दार्चुला: दार्चुलामा महाकाली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता भएका छन् । सोमबार दिउसो महाकाली नदीमा पौडी खेल्नेक्रममा व्यास गाउँपालिका–६ का अन्दाजी १५ वर्षिय धीरज धामी वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक देबेन्द्र बुढाथोकीका अनुसार जिल्ला सदरमुकाम खलङ्गामा कोठा गरी बस्दै आएका तथा महेन्द्र माध्यमिक विद्यालय खलंगामा कक्षा ९ मा अध्ययनरत बालक पौडी खेल्ने क्रममा सदरमुकाम स्थित महाकाली नगरपालिका–५ बसपार्क क्षेत्रबाट वेपत्ता भएको उनले जानकारी दिए ।
साथीहरुसँग पौडी खेल्न गएका धीरज नदीमा डुबेर वेपत्ता भएको बताइएको छ । उनीसँगै गएका उनका दुई जना साथी भने सकुशल रहेको प्रहरीले जनाएको छ । वेपत्ता धीरजको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया जनाउनुहाेस्





















