बैतडी: बैतडीको पाटन नगरपालिकामा कक्षा ८ को वार्षिक परीक्षाको केन्द्र अन्य विद्यालयमा तोकिएको विषयप्रति नगरपालिकालाई ध्यानाकर्षण गराइएको छ । अन्य विद्यालयमा परीक्षा केन्द्र तोकिदा बालबालिकाहरुमा अपरिचित वातावरणमा लामो दूरी पार गरेर परीक्षा दिन पठाउँदा विद्यार्थीको मनोबल घट्ने र उनीहरूले आफ्नो वास्तविक क्षमता प्रदर्शन गर्न नसक्ने अवस्था आउन सक्ने भन्दै परीक्षा केन्द्र सम्बन्धित विद्यालयमा नै परीक्षा केन्द्र राख्न माग गरिएको हो ।
शिगास माध्यमिक विद्यालय पाटन नगरपालिका–३ र सिद्धेश्वर माध्यमिक विद्यालय पाटन नगरपालिका–९ का विद्यालय व्यवस्थापन समिति परिवारका अध्यक्ष प्रेम सिंह भाटले सो माग गर्दै नगरपालिका हस्ताक्षर गरी नगरपालिकामा पेश गरेका हुन्।
२०८० देखि नगरपालिकाले कक्षा ८ को परीक्षाको लागि एक वडाको एक परीक्षा केन्द्र तोक्दै पालिकास्तरीय परीक्षा संचालन गर्दै आएको छ ।
बिव्यस अध्यक्ष भाटले पाटन नगरपालिका अन्तर्गतका विद्यालयहरूले कक्षा ८ को वार्षिक परीक्षा सञ्चालनका लागि यस वर्ष पनि अन्य विद्यालयमा परीक्षा केन्द्र तोकिएको जानकारी प्राप्त भएको भन्दै त्यसले विशेषगरी दुर्गम भौगोलिक क्षेत्रका विद्यार्थीहरूलाई समस्या उत्पन्न गर्ने बताएका छन्।
विद्यालय व्यवस्थापन समिति परिवारले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई निवेदन बुझाउँदै अधिकांश विद्यार्थीहरू टाढा–टाढाका बस्तीबाट कठिन भौगोलिक बाटो पार गर्दै विद्यालय पुग्ने भएकाले अर्को विद्यालयमा परीक्षा दिन जान बाध्य बनाउँदा बालबालिकाको सुरक्षा, स्वास्थ्य तथा मानसिक अवस्थामाथि अनावश्यक दबाब सिर्जना हुने उल्लेख गरेको छ ।
निवेदनमा अपरिचित वातावरणमा लामो दूरी पार गरेर परीक्षा दिन पठाउँदा विद्यार्थीको मनोबल घट्ने र उनीहरूले आफ्नो वास्तविक क्षमता प्रदर्शन गर्न नसक्ने अवस्था आउन सक्नेअपरिचित वातावरणमा लामो दूरी पार गरेर परीक्षा दिन पठाउँदा विद्यार्थीको मनोबल घट्ने र उनीहरूले आफ्नो वास्तविक क्षमता प्रदर्शन गर्न नसक्ने अवस्था आउन सक्ने पनि जनाइएको छ।
त्यसैले दुर्गम भौगोलिक अवस्थालाई ध्यानमा राख्दै विद्यार्थीहरूको हित, सुरक्षा र मनोवैज्ञानिक अवस्थालाई प्राथमिकतामा राखी कक्षा ८ को वार्षिक परीक्षाको केन्द्र सम्बन्धित विद्यालयहरूमा कायम गरिदिन नगरपालिकासँग आग्रह गरिएको छ।
यस विषयमा उचित निर्णय नभए विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायमा असन्तुष्टि बढ्न सक्ने तर्फ पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।





















