बैतडी: जिल्ला प्रहरी कार्यालय बैतडीले जिल्लाभरबाट ३८७ नाल भरुवा बन्दुक संकलन गरेको छ। आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनका क्रममा हतियारको दुरुपयोग हुन सक्ने तथा शान्ति सुरक्षामा खतरा उत्पन्न हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै बन्दुक संकलन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय बैतडीको माघ ६ गतेको सूचनाअनुसार इजाजत प्राप्त भरुवा बन्दुकधारीहरूलाई सूचना दिइएको थियो। सोही अनुरूप जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइहरूले प्रहरी परिचालन र सामाजिक सञ्जालमार्फत सूचना प्रवाह गरी बन्दुक संकलन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिनुभयो ।
बैतडीमा हातहतियारका एक हजार ८६ इजाजत बितरण गरिएको छ । चालू आर्थिक वर्षमा ४५० जनाले इजाजत नविकरण गराएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी बिनोद भट्टराईले जानकारी दिनुभयो ।
जिल्ला भित्र रहेका सबै हातहतियार संकलन नभएकाले माघ मसान्तसम्म म्याद थप गरिएको पनि जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरीक्षक बडूले बताउनुभयो । संकलित बन्दुकहरू निर्वाचन अवधिभर सुरक्षित रूपमा राखिने र निर्वाचन सम्पन्न भएपछि सम्बन्धित धनीलाई फिर्ता गरिने प्रहरीले जनाएको छ। शान्ति सुरक्षा कायम राख्न यस्ता गतिविधिलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय बैतडीको भनाइ छ।





















