बैतडी । बैतडीबाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट उम्मेदवारी दर्ता गराएका परमानन्द भट्ट जिल्लाको कम्युनिस्ट आन्दोलनमा लामो अनुभव बोकेका नेता हुन्। चार दशकभन्दा बढी समयदेखि सक्रिय राजनीतिमा रहेका भट्ट यसपटक संघीय संसद पुग्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएका छन्।
वि.स. २०२२ साल फाल्गुन ७ गते बैतडीको सुर्नया गाउँपालिका–४ मा जन्मिएका भट्टको राजनीतिक यात्रा विद्यार्थी जीवनदेखि नै सुरु भएको हो। २०४३ सालमा नेपालगञ्ज बहुमुखी क्याम्पसमा अध्ययनरत रहँदा अनेरास्ववियुबाट राजनीतिमा होमिएका उनी २०४७ सालमा तत्कालीन नेकपा मालेको बैतडी जिल्ला कमिटी सदस्य बने। त्यसपछि एमाले जिल्ला उपसचिव, सचिव हुँदै अञ्चल कमिटी सदस्यसम्मको जिम्मेवारी सम्हालेका भट्ट पार्टी संगठन निर्माणमा सक्रिय रहँदै आएका छन्।
पार्टी राजनीतिसँगै प्रशासनिक अनुभवसमेत बटुलेका भट्ट २०५५ देखि २०५९ सालसम्म बैतडी जिल्ला विकास समिति सभापतिको जिम्मेवारीमा रहे। उक्त अवधिमा जिल्लाको पूर्वाधार विकास र स्थानीय प्रशासन सुदृढीकरणमा भूमिका खेलेको उनी समर्थकहरू बताउँछन्।
संसदीय राजनीतिमा समेत अनुभवी मानिने भट्ट २०५३ सालको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका थिए। उम्मेदवारी छोड्ने समझदारी हुँदाहुँदै अन्तिमसम्म मैदानमा रहेपछि उनी राप्रपाका लक्ष्मणसिंह भण्डारीसँग झिनो मतान्तरले पराजित भएका थिए। त्यसयता उनी विभिन्न पार्टी संरचनामा रहेर संगठन विस्तार र विचार निर्माणमा सक्रिय छन्।
एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो सदस्य तथा प्रदेश सह–इन्चार्जको जिम्मेवारी दुई कार्यकाल सम्हालेका भट्ट हाल नेकपाको केन्द्रीय कमिटीमा पोलिटब्युरो सरहको भूमिकामा छन्। पार्टी नेतृत्वले उनलाई बैतडीमा वैकल्पिक राजनीतिक शक्तिको प्रतिनिधि मान्दै उम्मेदवार बनाएको बताइन्छ।
राजनीतिसँगै बौद्धिक लेखनमा पनि सक्रिय भट्टले नेपालको कम्युनिस्ट आन्दोलनमा माधव नेपाल, नेपाली कम्युनिस्टको विचार शृंखला र समय चक्र कविता सङ्ग्रह जस्ता कृति प्रकाशन गरिसकेका छन्। वैचारिक स्पष्टता र संगठनात्मक अनुभव नै आफ्नो मुख्य शक्ति भएको उनी बताउँछन्।
चीन तीन पटकसहित भारत, बंगलादेश, सिंगापुर, मलेसिया र बैंककको भ्रमण गरिसकेका भट्ट अन्तर्राष्ट्रिय कम्युनिस्ट अभ्यास र विकास मोडेलबारे जानकार मानिन्छन्।
विगतमा सरकारमा पुगेका दलहरूको असक्षमताका कारण जनतामा निराशा बढेको भन्दै भट्ट यो निर्वाचनलाई ‘मत परिवर्तनको अवसर’को रूपमा चित्रण गर्छन्। उनी भन्छन्, “अब जनताले नयाँ विकल्प खोजिरहेका छन्, नेकपा त्यसको भरपर्दो आधार हो।”
लामो राजनीतिक अनुभव, संगठनमा जरा गाडिएको उपस्थिती र वैचारिक पहिचानसहित परमानन्द भट्ट यसपटक बैतडीको संघीय राजनीतिको केन्द्रमा आफूलाई उभ्याउने प्रयासमा छन्।
कस्तो छ सम्भावना ?
नेकपा माओवादी सहितका गटक मिलेर बनेको नेपाली कम्युनिस्टका साँझा उम्मेदवार भट्ट हुन् । गत आम निर्वाचनमा माओवादी केन्द्रको सामानुपातिक मत १६ हजार हाराहरी हो । अहिले सामाजवादी पनि जोडिएको छ । कार्यकर्ता संरक्षण र भेगीय राजनिति सप्रिएको अवस्थामा प्रमानन्दको उदय सम्भवप्रया देखिन्छ ।
सोही अनुसार रणनिति बनाएर अघि बढेको नेत नरेन्द्र कुवँर बिजयसुन्दर बताउछन् । “हामिले कायकर्तासँग नजिक भएर हिडेका छौँ, सामानुपातिक मतले पनि हामि जित नजिक हौँ, भेगियरुपमा पनि सम्भावना राम्रो छ, सोही अनुसार अघि बढेका छौँ,” कुवँरले भने ।






















