बैतडीका दुर्गम क्षेत्रका मतदानस्थलको निरीक्षण

Image

बैतडीको दुर्गम क्षेत्रका मतदानस्थलहरुको निरीक्षण गरिएको छ । जिल्ला सुरक्षा समितिले आगामी फागुन २१ गते हुने प्रतितिनिधी सभा सदस्य निर्वाचनको समयमा सुरक्षा योजना लागू गर्न मतदानस्थलहरुको निरीक्षण गरिएको हो ।

मतदाताहरुलाई निर्वाचनको समयमा सुरक्षाको प्रत्याभुत हुने गरी सुरक्षा योजना लागू गर्न सुरक्षा समितिका पदाधिकारीसहित मतदानस्थलहरुको अवलोकन र निरीक्षण गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडलले जानकारी दिनुभयो ।

“निर्वाचनका बेला स्रोतसाधनको व्यवस्थापन र जनशक्ति परिचालनका लागि सबै मतदानस्थलको निरीक्षण गरिएको हो”, प्रजिअ पौडेलले भन्नुभयो, “दुर्गम क्षेत्रलाई उच्च प्राथमिकतामा थियो । निरीक्षण पछिको प्रतिवेदनसमेत तयार भसकेको छ ।”

सुरक्षाका दृष्टिकोणले यहाँका मतदानस्थलहरुको वर्गिकरण गरेर सुरक्षा योजना तयार भैसकेको प्रमुख जिल्ला अधिकारी पौडलले बताउनुभयो । सडकसञ्चाल, सञ्चार लगायतको अवस्थाका बारेमा निरीक्षण भैरहेको छ ।

बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन् । सुरक्षा दृष्टिकोणले १२९ मध्ये ३३ वटा मतदानस्थललाई अतिसंवेदनशील, २८ वटा मतदानस्थल संवेदनशील र ६८ वटा मतदानस्थल सामान्यको सूचीमा राखिएको जिल्ला सुरक्षा समितिले जनाएको छ।

प्रतिनिधि सभाका लागि एक निर्वाच क्षेत्र रहेको बैतडीमा दुई स्वतन्त्रसहित १२ जनाले उम्मेदवारी दिएका छन् । जिल्लामा २१४ मतदान केन्द्र र १२९ मतदानस्थल कायम रहे जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख खगेन्द्र भारतीले जानकारी दिनुभयो । २१ फागुनमा हुने निर्वाचनका लागि एक लाख ५६ हजार ३७२ मतदाता कायम भएका उहाँले बताउनुभयो ।

प्रतिक्रिया जनाउनुहाेस्