बैतडीमा खोरेत रोगविरुद्ध पूर्ण खोप अभियान सुरु

Image

बैतडी: बैतडीमा पशुहरुमा लाग्ने खोरेत रोगविरुद्ध पूर्ण खोप अभियान सुरु भएको छ । खोपका माध्यमबाट पशुधनको सुरक्षा र उत्पादनमा वृद्धिका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बैतडीले पूर्ण खोप अभियान सुरु गरेको हो ।

स्थानीय तहहरुसंगको समन्वयमा शुक्रबारदेखी खोप अभियान सुरु भएको केन्द्रका प्रमुख गुमानीदत्त पन्तले जानकारी दिए। यस अभियानअन्तर्गत जिल्लाका १० ओटै पालिकाका ३० हजार बढी गाईभैँसलीलाई खोरेत रोग विरुद्धको खोप लगाइने उनले बताए ।

यस अभियानका लागि २५ जना भाक्सीनेटर खटाइएको छ । खोपको उपलब्धता र पशुपालक किसानहरुले खोप लगाउने चाहेको खण्डमा त्यो संख्या बढ्न सक्ने उनको भनाई छ ।

भ्याक्सीनेटरहरुलाई स्थानीय तहको पशु शाखा अन्तर्गत कार्यरत प्राविधिकहरुले आवश्यक सहयोग गर्ने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । गाईभैँसी र बाख्रामा लाग्ने खोरेत रोगको संक्रमणका कारणले किसानहरुले ठुलो क्षति व्यहोर्दै आएका छन् । दुग्ध तथा मासु उत्पादनमा कमि आउन थालेको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र पाटनले जनाएको छ ।

खोरेत रोग लागेका पशुहरुलाई ज्वरो, मुख तथा थुन वरिपरि फोका, खुरको कापमा घाउ, खान रुचि खट्नु, खान नसक्नु, झोक्राउनु, झुसिलो देखिनु, मुखबाट ¥याल काढ्नु लगायतका लक्षण देखापर्ने गरेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्