बैतडी: बैतडीमा जीप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । बझाङबाट धनगढी जाँदै गरेको से १ ज १००५ नम्बरको बेलोरो जीप पाटन नगरपालिका(८ अनारखोलीमा दुर्घटना हुँदा चार जना घाइते भएका हुन् ।
बिहीबार अपराहन्न ४ बजेतिर बेलोरो जीप दुर्घटनामा परेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
घाइते हुनेमा बझाङको दुर्गाथली गाउँपालिका ६ का ३३ वर्षीय लोकेन्द्र महत, सोही ठाउँका १३ वर्षीय औजित महत, ३० वर्षीय सरस्वती धामी र दुर्गाथलीकै ४५ वर्षीय ओमजंग कडायत रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलाराम पाण्डेयले जानकारी दिए । घाइतेहरुको उद्धार गरि डडेल्धुरा अस्पतालमा उपचार भैरहेको उनले बताए ।
घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । जीप सडकबाट करिब ३० मिटर तल खसेको छ । उक्त जीपमा चालक सहित पाँच जना सवार रहेका थिए ।
जीप सडकबाट आफै अनियन्त्रीत भएर दुर्घटनामा परेको बताइएको छ । चालक बझाङको दुर्गाथली ४ का रमेश जाग्रीलाई नियन्त्रण लिइसकेको र थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।























