बैतडीको दशरथचन्द पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा

Image

बैतडीको दशरथचन्द नगरपालिका पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ । दशरथचन्द नगरपालिकाका ११ ओटै वडा पूर्ण खोप सुनिश्चित घोषणापछि शनिबार नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवनप्रसाद जोशीले बताए ।

राष्ट्रिय खोप तालिका अनुसार खोप पाउने उमेरका बालबालिकाहरुले खोप पाएको एकीन भएपछि पूर्ण खोप सुनिश्चित घोषणा गर्ने गरिएको उनले बताए । नगर क्षेत्रभित्र रहेका जन्मेदेखि १५ महिनासम्मका ४ सय ८३ जना र १६ महिनादेखि ५ बर्षसम्मका १ हजार ३ सय ९ जना बालबालिकाहरुले खोप पाएको सुनिश्चित भएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्नुअघि खोप कार्यकर्ताहरुले घरघरमा पुगेर बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाए÷नपाएको एकीन गरेका थिए ।

पूर्ण खोप सुनिश्चितता र दिगोपनाका लागि सरोकारवालाहरुले प्रतिबद्धता व्यक्त गरेका स्वास्थ्य शाखा प्रमुख जोशीले बताए । बालबालिकाहरुलाई विभिन्न १३ ओटा रोगविरुद्ध निशुल्क रुपमा खोप दिने गरिएको छ ।

यसैबीच दशरथचन्द नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणामा सहयोग गर्ने खोप कार्यकर्ताहरुलाई सम्मान गरिएको छ । ११ ओटै वडाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १५ जना खोप कार्यकर्ताहरुलाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख जोशीले बताए ।

नगरप्रमुख पुष्करराज जोशी (लख्खाभाई) को अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख दमनबहादुर कुवँर प्रमुख अतिथी रहेका थिए ।

प्रतिक्रिया जनाउनुहाेस्