पाटनमा कार्यपालिका बैठक बिथोलियोः वडा अध्यक्ष चन्दले गरे बैठक बहिष्कार

Image

बैतडी: बैतडीको पाटन नगरपालिकाको कार्यपालिका बैठक बिथोलिएको छ । वडा नं ७ को सडक निर्माण प्रक्रिया अघि बढाउने विषयमा सहमति नभएपछि कार्यपालिका बैठक बिथोलिएको हो । बुधबार र बिहीबार बसेको बैठकमा सहमति नजुटेपछि कार्यपालिका बैठक नै स्थगित भएको हो ।
बिहीबार कार्यपालिका बैठकमा उपस्थित भएका वडा नं ७ का वडा अध्यक्ष ललित बहादुर चन्दले कार्यपालिका बैठक पुस्तिकामा रहको आफ्नो उपस्थितिमा रातो लगाएर बैठक नै बहिष्कार गरेका छन् । वडा नं ७ का वडा अध्यक्ष एवं अधिकांश कार्यपालिका सदस्यहरूले कोटेसन मार्फत भएपनि सडक निर्माणमा सो रकम कार्यान्वयनमा लैजानुपर्ने माग राखेका थिए । तर कार्यकारी नारायण बिष्टले भने कार्यपालिकाले कोटेसन मार्फत योजना अघि बढाउने निर्णय गर्नुपर्ने भनेपछि सहमति हुन सकेको छैन ।

यस विषयमा अघिल्ला कार्यपालिका बैठकमा समेत जोडतोडका साथ छलफल भएको थियो । तर सहमति हुन सकेको थिएन । सो वडाको कोइराइजर सडक मर्मत गर्ने तयारी थियो । तर महालेखाले मर्मतको ठाउँमा नयाँ सडक कसरी काटियो भनेर प्रस्न गर्ने भन्दै “सडक निर्माण” भनेर नै शीर्षक बदल्ने विषयमा पनि छलफल भएको थियो ।

उक्त सडकमा १० लाख बजेट बिनियोजन गरिएको थियो । त्यसपछि पनि आफूले उपभोक्ता समिति गठनगरी सडक निर्माणको काम अघि बढाउने तयारी गर्दा कार्यकारी बिष्टले नमानेको वडा अध्यक्ष चन्द बताउँछन् । कार्यकारी बिष्टले भने सबै कर्मचारीको टाउकोमा दोस थुपारेर उम्किन खोजेको बताएका छन् ।

कार्यकारीलाई अधिकार हुँदाहुँदै कार्यान्वयनमा लैजान नमानेको नगर प्रमुख गौरी सिंह रावलले बताए । “कोटेसन मार्फत योजना कार्यान्वयनमा लैजाने अधिकार कार्यकारीसामु छ, निर्णय गर्नै परेन, तर कार्यकारी बिष्ट मान्दैनन्” नगर प्रमुख रावल भन्छन् ।

नगर उपप्रमुख कमल सिंह बोहराले कार्यकारी समक्ष भएको अधिकार प्रयोग गरी अघि बढाउनुपर्ने तर कार्यपालिकाबाटै कोटेसन दिने भनेर निर्णय गर्न नसकिने बताएका छन् ।

यसैगरी पाटन नगरपालिकामा टिप्पणीका आधारमा योजना कार्यान्वयनमा गइरहेको पनि पाइएको छ । सुदूरपश्चिम प्रदेशको ससर्त अनुदान मार्फत आएको ८ लाख बजेट बराबरको खानेपानी मुहान स्रोत संरक्षण तथा पुनर्भरण कार्यक्रममा टिप्पणी उठाएर योजना कार्यान्वयनमा लैजाने आन्तरिक तयारी भइरहेको छ ।

वडा नं ७ को उपल्ला बाटुला, वडा नं ३ को बोहोरीगाउँ र वडा नं १ को भुर्णमा टिप्पणी उठाएर योजना कार्यान्वयन गर्ने तयारी भइरहेको छ । यसैगरी सुदूरपश्चिम प्रदेशको समानीकरण अनुदान मार्फत आएको ५ लाख बजेटबाट युवा लक्षित उद्यमी कार्यक्रम तथा मेकानिकल तालिमलाई पनि टिप्पणी उठाएर कोटेसनको आधारमा कार्यान्वयनमा लैजाने तयारी भइरहेको छ । माथि उल्लेखित योजनाहरू अहिले नै कार्यान्वयनमा गइनसकेको उपप्रमुख बोहराले बताएका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्