प्रहरीले बैतडीमा भारतबाट भन्सार छली गरि ल्याएको अवैध बिँडी बरामद गरेको छ । ३ लाख ३० हजार बराबरको अवैध बिँडीसहित जिप चालक र साहुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए ।
बिहीबार बिहान ५ बजेतिर विजयपुरबाट हाटतर्फ जाँदै गरेको सुपप्र ०१००१ ज १७१३ नम्बरको बोलेरो जिपसहित चालक सिगास गाउँपालिका– २ का २२ वर्षीय मानसिंह धामी र पुचौँडी नगरपालिका– १० विजयपुरका गाडीधनी २८ वर्षीय दिनेश महरालाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक बडूले बताए ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकको प्रहरी टोली र पुरघाट प्रहरीचौकीबाट खटिएको प्रहरी टोलीले पुर्चौडी नगरपालिका –१० विजयपुरबाट बिँडी बरामद गरेको हो । “गोप्य सुचनाका आधारमा ११ पेटी अवैध बिँडीसहित १२ लाख मूल्य बराबरको बेलोरो जिप र दुई जनालाई नियन्त्रणमा लिएका छौ” बडूले भने, “ उनीहरुलाई आवश्यक अनुसन्धानका लागि आज महाकाली भन्सार कार्यालयमा बुझाइने छ ।”
यसअघि जेठ ४ गतेपनि २ लाख ८२ हजार रुपैयाँ बराबरको प्रतिबन्धित बिँडी बरामद गरिएको थियो ।





















