बैतडी:बैतडीको पाटन नगरपालिका -१ को प्रसासनिक भवन निर्धारित समयअघि नै सम्पन्न भएको छ ।
धरमदेव निर्माण सेवाले बजेट सुनिश्चित गरी सम्झौता भएको ५ महिनामै निर्माण सम्पन्न गरेको हो ।
एक वर्षभित्रै निर्माण सम्पन्न गर्ने सम्झौता भएको र आफुले सो भवनको निर्माणको जिम्मा लिएका निर्माण व्यावसायी भरत सिंह ओलीले जानकारी दिए ।
६ कोठा र एक हलसहितको उक्त भवन निर्माण गर्न चुनौती रहेको भएपनि जिम्मेवारी ढंगले काम गरेको हुनाले काम समयअगावै सम्पन्न भएको निर्माण व्यावसायी ओलीले बताए ।
‘कच्ची ग्रामिण सडक रहेकाले समयमा नै निर्माण सामाग्री पुर्याउन कठिन थियो, सुर्नया नदीमा पुल समेत नभएकाले केही असहज भएको थियो ।’ ओलीले भने ।
निर्माण व्यावसायी ओलीले सोमबार नै पालिकालाई सो भवन हस्तान्त्रण गरेका थिए ।
निर्माण व्यावसायीले दत्तचित्त भएर निर्माणको काम गरेको हुनाले निर्माणको काम सुरु गरेको ५महिनामै काम सम्पन्न भएको वडा अध्यक्ष तर्क सिंह ठगुन्नाले बताए ।
‘निर्माण व्यावसायीले समयाअवधि अघि नै काम सम्पन्न गरेका छन्, हामि खुसी छौँ, लगत्तै कार्यालय सार्ने तयारी छ’ वडा अध्यक्ष ठगुन्नाले भने ।





















