बैतडीको ट्रमा सेन्टर संचालनको लागि प्रदेश सरकारको १ करोड बजेट
बैतडी
तीन वर्षदेखि सञ्चालनमा आउन नसकेको बैतडीको खोडपेमा रहेको ट्रमा सेन्टर सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गरेको छ ।
प्रदेशका आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभा बैठकमा चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै बैतडीको खोडपेस्थित ट्रमा सेन्टर र डोटीको छतिवन स्वास्थ्य चौकीका लागि कुल २ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिएका हुन् । खोडपेका लागि एक करोड बजेट बिनियोजन गरिएको हो ।
दुर्घटनामा परेका घाइतेको आकस्मिक उपचार सहज बनाउने उद्देश्यले आवश्यक बजेट विनियोजन गरिएको प्रदेश सरकारले जनाएको छ ।
संघीय सरकारको ५० लाख र पाटन नगरपालिकाको ७ लाख रुपैयाँ गरी कुल ५७ लाख रुपैयाँमा ट्रमा सेन्टरको भवन निर्माण सम्पन्न भएको थियो । तर आवश्यक केही विशिष्ट उपकरण र जनशक्तिको व्यवस्थापन हुन नसक्दा सेन्टर सञ्चालनमा आउन सकेको छैन ।
दुर्घटनाको जोखिम बढी रहेका क्षेत्रलाई लक्षित गरी निर्माण गरिएको ट्रमा सेन्टर सञ्चालनमा आएमा दुर्घटनामा परेका घाइतेलाई तत्काल उपचार सेवा उपलब्ध गराउन सहज हुने अपेक्षा गरिएको छ ।
ट्रमा सेन्टर संचालनको माग गर्दै पाटन नगरपालिका–८ का वडा अध्यक्ष हरि सिंह बिष्टले प्रदेशका मुख्यमन्त्री खगराज भट्टसमक्ष माग गरेका थिए । यसअघि समेत निवर्तमान मुख्यमन्त्री कमल बहादुर साह समक्षसमेत खोडपे मै ज्ञापन पत्र पेश गरेका थिए ।
संघ सरकार समक्षसमेत पटक पटक आग्रह गरिएकोमा अहिले बजेट परेको र अब संचालन हुनेमा आशाबादी रहेको वडा अध्यक्ष बिष्टले बताउनुभयो ।












