बैतडीमा बढ्दै किशोरी आमाको संख्या

Image

बैतडी: बैतडीमा किशोरी आमाको संख्या बढ्दै गएको छ । स्वास्थ्य कार्यालयको तीन वर्षको तथ्याङ्कले किशोरावस्थामै मातृत्व लिनेको संख्या बढिरहेको देखाएको हो ।

तीन वर्षको अवधीमा यहाँका ७५२ जना किशोरी २० वर्षमुनी नै आमा बनेका स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो । उनीहरुले तीन वर्षको अवधीमा यहाँका विभिन्न स्वास्थ्य संस्थाबाट सुरक्षीत प्रसुती सेवा लिएका सूचना अधिकारी कार्कीले बताउनुभयो ।

स्वास्थ्य कार्यालय बैतडीका अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा २० वर्ष नपुग्दै २२१ किशोरीले सुरक्षीत प्रसुती सेवा लिएका थिए । यो संख्या आर्थिक वर्ष २०८१÷०८२ मा बढेर २५८ पुगेको थियो। आर्थिक वर्ष २०८२÷०८३ मा भने थप वृद्धि भई २७३ पुगेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

बालविवाह न्यूनीकरणका लागि विभिन्न प्रयासहरु भइरहेका भएपनि बैतडीमा भने अझै बालविवाह न्यूनीकरण हुन सकेको छैन् । कानुनले २० बर्ष मुनिको विवाहलाई बालविवाह मानेको छ ।

बालविवाह न्यूनीकरणका लागि बहुपक्षीय प्रयास भएमात्रै रोक्न सकिने बालविवाह न्यूनीकरणको क्षेत्रमा काम गरिरहेको संस्था परोपकार ग्रामीण विकास संघकी कार्यक्रम संयोजक कुन्ती भट्टले बताउनुभयो ।

“स्थानीय तहहरुको बालविवाह न्यूनिकरणमा सक्रिय भूमिका देखिएको छैन”, उहाँले भन्नुभयो,“बालविवाह कुनै एकपक्षले मात्रै नभई बहुपक्षीय प्रयासमा मात्रै सम्भव छ ।”

अहिले बालविवाह स्वरुप परिवर्तन भएको भट्टले बताउनुभयो । उहाँका अनुसार मागी भन्दा बढी भागी विवाहले बालविवाह बढाएको छ ।

नेपालले सन् २०३० भित्र बालविवाह अन्त्य गर्ने नीति लिएको छ । तर सरकारको नीतिअनुसार जिल्लामा अझै पनि बालविवाह न्यूनीकरण हुनसकेको छैन ।

शारीरिक र मानसिकरूपमा २० वर्षमाथि मात्रै परिपक्व हुने भएकाले त्योभन्दा मुनि बच्चा जन्माउनु आमा र बच्चा दुवैका लागि खतरा हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताउनुभयो । “उमेरमा बच्चा जन्मिदा कुपोषित हुने, कम तौलको जन्मिने, रक्तअल्पतालगायतका जोखिम निम्तिने गर्दछन्”, उहाँले भन्नुभयो ।

सरकारले बालविवाह रोक्न कानुनी व्यवस्था गरे पनि ग्रामीण क्षेत्रमा त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा समस्या कायमै रहेको सरोकारवालाले बताएका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्