बैतडी: बैतडीमा ‘मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३’ स्वीकृत गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको योजना बैठकबाट स्वीकृत गरिएको हो ।
शुक्रबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा योजना पेश भएको र बैठकले योजना स्वीकृत गरेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताउनुभयो । “योजनामा विपद्को पूर्वतयारी,विपद्को समयमा गर्नुपर्ने काम र विपद् पश्चात गर्नुपर्ने कामका बिषय समावेश गरिएका छन्,” उहाँले भन्नुभयो ।
मनसुनको समयमा हुन सक्ने जोखीमलाई मध्यनजर गर्दै राहत उद्धार लगायतका विषयमा समेत छलफल भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो । सम्भावित जोखिमयुक्त स्थानहरुको पहिचान गरेर त्यो क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षीत स्थानमा सार्ने बिषयमा उहाँले जानकारी दिनुभयो ।
जोखिमयुक्त क्षेत्रको पहिचान गरि सो क्षेत्रका नागरीकहरुलाई सुरक्षीत स्थानमा सार्ने र विपद्मा परेकाहरुको उद्धार तथा राहतका लागि सबै निकाय तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । यसैगरी बर्षातको समयमा प्रमुख राजमार्गहरु सुचारु गर्नका लागि सडक डिभिजन कार्यालय र पूर्वाधार विकास कार्यालयलाई आवश्यक तयारी रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो।
बैतडीमा बाढी,पहिरोजस्ता प्रकोपको बढी जोखिम भएकाले यसबाट प्रभावित हुन सक्ने समुदायको पहिचान गरेर उचित प्रबन्ध मिलाउन स्थानीय तहहरुलाई आग्रह गरिएको छ।





















