रास्वपा बैतडीको नयाँ कार्यसमिति चयन, सभापतिमा भिम नाथ दोहोरिए

Image

बैतडी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ । शनिबार पाटनमा सम्पन्न पार्टीको प्रथम जिल्ला अधिवेशनले भिम नाथको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको रास्वपा सुदूरपश्चिमका संस्थापक महामन्त्री भोजराज जोशी (क्वालिटी)ले बताउनुभयो ।

अधिवेशनले नाथलाई नै सभापतिमा दोहर्याएको छ । अन्य पदमा धेरै आकांक्षी भएपनि छलफलपछि सर्वसम्मत रुपमा समिति गठन गरिएको जोशीले जानकारी दिनुभयो। उक्त कार्यसमितिको उपसभापतिमा हेमन्तकुमार ऐर, सचिवमा हरिश जोशी र सहसचिवमा जनकबहादुर गडाल चयन भएका छन् ।

यस्तै सदस्यहरुमा शालिभानसिंह धामी, पूजा महर, करणसिंह सुतार, मानमती नाथ, सुरेश बिष्ट र बबिता साउँद चयन भएका छन् । कोषाध्यक्ष भने पछि कार्यसमितिले मनोनयन गर्नेछ ।

रास्वपाको नयाँ कार्यसमितिले संगठन विस्तारको काम गर्ने सभापति नाथले बताए । पार्टीको संगठनलाई बलियो, चुस्तदुरुस्त बनाउन लागिपर्ने उहाँले जानकारी दिनुभयो ।

पार्टीको नयाँ कार्यसमितिले संगठनलाई अझ सुदृढ, गतिशील,प्रभावकारी र उदाहरणीय बनाइने उपसभापति हेमन्तकुमार ऐरले बताउनुभयो। सुशासन, समृद्धि र स्वाभिमानको अभियानलाई अझै मजबुत बनाइने उहाँले जानकारी दिनुभयो ।

यसअघि अधिवेशनको उद्दघाटन सत्रमा प्रतिनिधि सभा सदस्य एवं रास्वपा नेता हरिमोहन भण्डारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्