बैतडी: जिल्ला प्रशासन कार्यालय बैतडीले सार्वजनिक बिदाका दिन पनि अत्यावश्यक सार्वजनिक सेवा प्रवाह गर्ने भएको छ । कार्यालयले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा सार्वजनिक बिदामा पनि उपलब्ध गराउने भएको हो ।
बैतडीका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले सेवाग्राहीको सहजताका लागि सार्वजनिक बिदामा पनि सेवा प्रवाह गरिने बताउनुभयो ।
चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), उभौली पर्व, बुद्ध जयन्ती, गणतन्त्र दिवस, रक्षा बन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, धान्य पूर्णिमा, उधौली पर्व, योमरी पुन्ही, क्रिसमस डे, विभिन्न ल्होसार लगायतका बिदामा सेवा सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । त्यसैगरी पृथ्वी जयन्ती, माघी पर्व, प्रजातन्त्र दिवस, महिला दिवस, ईद(ईद उल फित्र) र बकर ईद(ईद उल अजाहा) का दिन उक्त सेवाहरु प्रवाह गरिने कार्यालयले जनाएको छ ।
गृह मन्त्रालयको पत्रअनुसार सेवाग्राहीहरुको सहजता कार्यालयले सार्वजिनक बिदाका दिन पनि नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा उपलब्ध गराउने प्रजिअ भट्टराईले बताउनुभयो ।





















