बैतडी
बैतडीको पाटन नगरपालिकाका कृषि शाखा प्रमुख दान सिंह बिष्टले नियमविपरित भ्रमण आदेश स्वीकृत गरेका छन् । प्रमुख प्रशासकीय अधिकृतद्धारा भ्रमण आदेश लिनुपर्ने भएपनि स्वयं बिष्टले नै भ्रमण आदेश स्वीकृत गरेका हुन् ।
यही चैत्र २० गतेका दिन बिष्टले २२ गतेदेखि २७ गतेसम्म ६ दिन भ्रमण आदेशका लागि निवेदन दिएका छन् । तर प्रमुख प्रशासकीय अधिकृत टेकराज अर्यालको ठाउँमा निमित्त प्रमुख प्रशासकीय अधिकृत उल्लेख गरेर आफैले भ्रमण आदेशमा दस्तखत गर्दै भ्रमण आदेश स्वीकृत गरेका छन् ।
नियम विपरित प्रमण आदेश लिएका बिष्टलाई प्रमुख प्रशासकीय अधिकृत अर्यालले स्पष्टिकरण सोधेका छन् ।
आफ्नो भ्रमण आफैले स्वीकृत गरेको विषयमा ३ दिनभित्र स्पष्टिकरण दिन पत्र काटिएको छ ।
प्रमुख प्रशासकीय अधिकृतले भ्रमण आदेश स्वीकृत गर्न नमानेपछि आफैले स्वीकृत गर्नुपरेको बिष्टले बताउनुभयो । “कृषि निर्देशनालयको कार्यक्रम फ्रिज हुने अवस्थामा थियो, भ्रमण आदेश दिनुहोस् भनेर दुईतीन दिनदेखि लागि परेको थिए, निर्देशनालयबाट छिटो गर्नुस् भन्ने आदेश आएको थियो, त्यसैले आफै अधिकृतस्तरको भएकाले दस्तखत हानिदिए,” बिष्टले भन्नुभयो ।
यस विषयमा प्रमुख प्रशासकीय अधिकृत अर्याललाई बुझ्दा फोन उठेन ।

पाटनमा बिष्टले गरे आफ्नै हस्ताक्षरमा भ्रमण आदेश पास, ३ दिने स्पष्टिकरण



प्रतिक्रिया जनाउनुहाेस्
















