बझाङ: दोस्रो संस्करणको जय नेपाल वडाअध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरू भएको छ । बझाङको बित्थडचिर गाउँपालिका–९ को आयोजनामा आइतबार खुल्ला पुरुष वडास्तरीय क्रिकेट प्रतियोगिता सुरू भएको हो ।
सुनकुडा माविको खेलमैदानमा प्रतियोगिता सुरु भएको वडाअध्यक्ष हरिशचन्द्र जोशिले जानकारी दिनुभयो । प्रतियोगिताको पहिलो दिन २ खेल सम्पन्न भएका छन् ।
बित्थडचिर-१ र वडा नम्बर ८ को दाजुभाइ वर्कसपले विजयी सुरूवात गरेका छन् ।
प्रतियोगितामा १९ ओटा टिमको सहभागीता रहेको छ ।
प्रतियोगताको विजेताले ६१ हजार १६१ रुपैँया नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३१ हजार १३१ रुपैँया नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगताको म्यान अफ दि सिरीजलाई नगद ४ हजार, सर्वाधिक विकेट लिने खेलाडी र व्याट्म्यान अफ दि सिरीजलाई जनही लाई २ हजार ५ सय नगद प्रदान गरिने आयोजक जनाएको छ । यस्तै म्यान अफ दि म्याचलाई मायाको चिनो प्रदान गरिनेछ ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष जोशीले प्रतियोगिताको दोस्रो संस्करण आयोजना गर्नुको मुख्य उद्देश्य नयाँ वर्षको शुभकामना आदान–प्रदानसँगै स्थानीय खेलाडीहरूको क्षमता प्रदर्शन, प्रबर्द्धन तथा विकासमा टेवा पुर्याउनु रहेको बताउनुभयो ।
स्थानीय स्तरमा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्दै युवा प्रतिभालाई उजागर गर्ने लक्ष्यका साथ आयोजना गरिएको उक्त प्रतियोगिताले क्षेत्रीय खेलकुद विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।




















