बैतडी : जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पुर्चौडीले जितेको छ । १२ स्वर्ण, ९ रजत र ७ काश्य सहित पुर्चौडी नगरपालिकाले १६ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेको हो ।
दशरथचन्द नगरपालिका–२ देहीमाण्डौँ स्थित निङ्गलाशैनी खेलमैदानमा वैशाख ७ गतेदेखी ९ गतेसम्म भएको थियो । यो संगै पुर्चौडीले लगातार दोस्रो पटक जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जितेको हो ।
सिगास गाउँपालिकाले ९ स्वर्ण, ५ रजत र ७ काश्यपदक सहित दोस्रो भएको छ । यसैगरी दोगडाकेदार गाउँपालिका ५ स्वर्ण, ९ रजत र ८ काश्यपदसहित तृतिय बन्यो ।
जिल्ला खेलकुद समिति र दशरथचन्द नगरपालिकाको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा यहाँका दश ओटै स्थानीय तहहरुको सहभागीता रहेको थियो ।
प्रतियोगितामा छात्र / छात्रा भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्टका खेलहरू सञ्चालन भएका जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीले बताउनुभयो ।
उहाँले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुलाई प्रदेस्तरीय छनोटका लागि जिल्लाको टिममा समावेश गरिने जानकारी दिनुभयो ।




















