बैतडीमा मतपत्र र निर्वाचन सामग्री बुझेर मतदान केन्द्रमा खटिए कर्मचारी

Image

बैतडी: फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बैतडीमा कर्मचारीहरु मतपत्र र निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा खटिएका छन् । मतपत्र र निर्वाचन सामग्री बुझेर कर्मचारी आजदेखि मतदान केन्द्रमा खटिएका जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।

यसअघि मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई निर्वाचनका बिषयमा अभिमुखीकरण तालिम दिइएको थियो । जिल्लामा एक अस्थायीसहित २ सय १५ ओटा मतदान केन्द्र रहेका छन् । ती सबै केन्द्रका लागि मतपत्र र निर्वाचन सामग्रीसहित कर्मचारी खटिसकिएका जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले बताउनुभयो ।

मतदान केन्द्रमा खटिएका कर्मचारीहरुले मतदानका लागि आवश्यक तयारी गर्ने बताइएको छ । जिल्लामा निर्वाचनका लागि १ हजार २८८ जना कर्मचारी खटिएका सूचना अधिकारी दयालले जानकारी दिनुभयो । प्रतिनिधि सभा सदस्यका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीमा १ लाख ५६ हजार ३७२ मतदाता रहेका छन् । यहाँ एक स्वतन्त्रसहित ११ जना चुनावी मैदानमा छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीमा १२९ मतदानस्थल, एक अस्थायीसहित २१५ मतदान केन्द्र रहेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्