बैतडी: जिल्ला निर्वाचन कार्यालय बैतडीले अस्थायी मतदाताको नामावली सार्वजनिक गरेको छ । कार्यालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान गर्न योग्य अस्थायी मतदाताको नामावली सार्वजनिक गरेको हो ।
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतदान गर्ने सुरक्षाकर्मी, कर्मचारीलगायत एक हजार १५१ अस्थायी मतदाताको नामावली सार्वजनिक गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले जानकारी दिनुभयो ।
उनीहरुले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत मतदान गर्न पाउनेछन् । निर्वाचनमा खटिएका कर्मचारीले खटिएकै मतदान केन्द्र र बाँकीले अस्थायी मतदान केन्द्रबाट मत समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत मतदान गर्न पाउने सूचना अधिकारी दयालले बताउनुभयो ।
प्रतिनिधि सभाका लागि एक निर्वाच क्षेत्र रहेको बैतडीमा २१४ मतदान केन्द्र र १२९ मतदानस्थल कायम गरिएको जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख खगेन्द्र भारतीले जानकारी दिनुभयो । एक अस्थायी मतदान केन्द्र तोकीएको छ । उक्त निर्वाचनका लागि एक लाख ५६ हजार ३७२ मतदाता कायम भएका उहाँले बताउनुभयो ।
बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन् । सुरक्षा दृष्टिकोणले १२९ मध्ये ३३ वटा मतदानस्थललाई अतिसंवेदनशील, २८ वटा मतदानस्थल संवेदनशील र ६८ वटा मतदानस्थल सामान्यको सूचीमा राखिएको जिल्ला सुरक्षा समितिले जनाएको छ।





















