बैतडी: बैतडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
प्रतिनिधि सभाका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको बैतडीमा शुक्रबार दशरथचन्द नगरपालिका-४ गढी स्थित जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन कार्यालय बैतडीका प्रमुख खगेन्द्र भारतिले जानकारी दिनुभयो ।

जिल्ला अदालत बैतडीका न्यायाधीश तिर्थराज भट्टलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ । माघ ६ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने मिति तय भएकाले निर्वाचन कार्यक्रमअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको उहाँले बताउनुभयो ।
उम्मेदवारी दर्ता, निर्वाचनका लागि कर्मचारी परिचालन, निर्वाचनसम्बन्धी सामग्रीको व्यवस्थापन तथा भण्डारण, निर्वाचनको प्रशासनिक काम–कारवाही लगायत निर्वाचनसँग सम्बन्धित सम्पूर्ण कामहरु सञ्चालन गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
कार्यालय उद्घाटन कार्यक्रममा प्रजिअ पुण्यविक्रम पौडेल, सुरक्षा निकायका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।
जिल्लामा एक लाख ५६ हजार ३७२ मतदाता कायम भएका छन् भने २१४ मतदान केन्द्र र १२९ मतदानस्थल रहेका निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।
प्रतिक्रिया जनाउनुहाेस्





















