बैतडी, बैतडीमा जिप दुर्घटनामा परेको छ । जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने बैतडीको सुर्नया गाउँपालिका वडा नं ६ को मोतिनगरबाट डडेल्धुरातर्फ जादै गरेको म १ ज २२४ नम्बरको जिप आज बिहान करिब १० बजेको समयमा पाटन नगरपालिका–८ को विजयपुर नजिकै दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको सिगास गाउँपालिका–१ का २५ वर्षीय निसान्त बोहरा, सिगास गाउँपालिका–१का २९ वर्षीय भानदेव भट्ट, सिगास गाउँपालिका–१ कि २९ वर्षीय बसन्ती ऐर र डडेल्धुराको आलिताल गाउँपालिका–३ चौरका १३ वर्षीय राकेश रावल रहेका छन् ।
बसन्ती ऐरको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अन्यको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरीक्षक दिपक कुमार रायले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार दुर्घटनामा परी ६ जना घाइते भएका छन् । घाइते हुनेमा सिगास गाउँपालिका–१ कि १९ वर्षीया बिमला ऐर, सोही ठाउकी ४ वर्षीया प्रिन्सा ऐर, चालकसमेत रहेका सिगास गाउँपालिका–१ का २८ वर्षीय गणेश बिष्ट, पाटन नगरपालिका–८ की २५ वर्षीया कमला बिष्ट, सिगास गाउँपालिका– १ की २५ वर्षीया लालमती बोहरा र डडेल्धुरा आलिताल गाउँपालिका–३का ३२ वर्षीय बिरेन्द्र बोहरा रहेका छन् ।
घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाको कारण खुल्न सकेको छैन । जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ ।























