बैतडी: २०७७ सालमा एकैपटक शिलान्यास गरिएका राष्ट्रिय महत्त्वसँग जोडिएका आधारभूत अस्पतालको काम सन्तोषजनक नरहेका बेला बैतडीको दोगदाकेदार गाउँपालिकामा भने १० शय्याको आधारभूत अस्पतालको निर्माण कार्य सम्पन्न भएको छ । दोगडाकेदार–६ सित्तडमा अस्पतालको भवन निर्माण कार्य सम्पन्न भएको हो ।
साढे ८ करोड लागतमा ३ तले आधुनिक भवन निर्माण कार्य सम्पन्न भएको गाउँपालिकाका योजना शाखा प्रमुख, इन्जिनियर प्रशान्त अधिकारीले जानकारी दिए ।
‘भवन निर्माणको काम सम्पन्न भइसकेको छ, निर्माण कम्पनीले लगत्तै हस्तान्तरण गर्दै छ, प्रदेश वा संघ सरकारले दरबन्दी स्वीकृत गरी सञ्चालनमा ल्याउन सहयोग गरेमा लगत्तै सञ्चालन हुने थियो, हामीले लगातार पहल गरिरहेका छौं,’ अध्यक्ष कार्कीले भने । अस्पताल सञ्चालनमा ल्याएर पालिकावासीलाई विशेषज्ञ स्वास्थ्यसेवा उपलब्ध गराउन सहज हुने उनले बताए ।
अस्पतालको सञ्चालन र सुविधाका लागि डिजिटल एक्स–रे मेसिन (५०० एमए), यूएसजी÷उपकरण (कलर डोप्टर), सीबीसी मेसिन, एनालाइजर र माइक्रोस्कोप (सी एक्स ३३ कोलम्पस) जस्ता अत्यावश्यक उपकरणहरूको सूची तयार गरेर स्वास्थ्यसेवा विभागलाई पत्राचार गरिएको छ । २०७७ मंसिरमा शिलान्यास गरिएको आधारभूत अस्पतालको काम २०७८ असारदेखि निर्माणको काम थालिएको थियो ।
१० शय्यामा २ जना मेडिकल अधिकृतसहित २२ जना जनशक्ति रहने संरचना पनि तयार भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ सालमा स्थानीय तहमा ५, १० र १५ शय्याको आधारभूत अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो जसमा भूगोल र जनसंख्याका आधारमा आधारभूत अस्पताल निर्माण गर्ने भनिएको थियो ।
२०७७ साउन २८ गते ३९६ र पुस १२ गते २५९ वटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने मन्त्रीस्तरीय निर्णय भएको थियो ।





















