बैतडीमा एक लाख ५६ हजार मतदाता कायम

Image

बैतडी: बैतडीमा एक लाख ५६ हजार ३७२ मतदाता कायम भएका छन् ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र दुई तेस्रो लिङ्गी रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालका अनुसार हालको मतदाता सङ्ख्या अघिल्लो निर्वाचनको तुलनामा ६ हजार २१६ ले वृद्धि भएको हो । यसअघिको निर्वाचनमा एक लाख ५० हजार १५६ मतदाता थिए ।

निर्वाचनका लागि बैतडीमा पाँच मतदान केन्द्र थपिएका छन् । सूचना अधिकारी दयालका अनुसार सिगास गाउँपालिका–४ को वडा कार्यालय भवन कान्धार, दशरथचन्द नगरपालिका–७ को केदारशिला आधारभूत विद्यालय सुर्काल, दशरथचन्द नगरपालिका–९ को केदार आधारभूत विद्यालय सीम लोडासौं, शिवनाथ गाउँपालिका–३ को श्रीपुर आधारभूत विद्यालय बछला र पाटन नगरपालिका–५ को त्रिपुरेश्वर मावि कुलडामा मतदान केन्द्र थप भएको हो ।

यसैगरी, एउटा मतदान केन्द्र घटाइएको छ । मेलौली नगरपालिका–२ को कोटेश्वर आधारभूत विद्यालयमा रहेका दुईवटा मतदान केन्द्रमध्ये एउटा मतदान केन्द्र हटाइएको हो । गएको निर्वाचनमा २१० मतदान केन्द्र रहेको बैतडीमा आगामी निर्वाचनका लागि २१४ मतदान केन्द्र कायम भएका छन्  ।

मतदानस्थल भने साबिककै १२९ नै कायम रहेका छन् । यस्तै निर्वाचन कार्यालयले अस्थायी मतदाताको विवरण सङ्कलन कार्यलाई तीव्र बनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्