बैतडीको पाटन नगरपालिकाले एचआइभी संक्रमितलाई पोषण खर्च उपलब्ध गराउने

Image

बैतडी: एचआइभी संक्रमितहरुलाई बैतडीको पाटन नगरपालिकाले पोषण खर्च उपलब्ध गराउने भएको छ । नगरक्षेत्र भित्रका एआरटी औषधी सेवन गरिरहेका संक्रमितहरुलाई नगरपालिकाले पोषण खर्च उपलब्ध गराउने भएको हो ।

चालू आर्थिक वर्षका लागि नगरपालिकाले यसका लागि एक लाख बजेट विनियोजन गरेको स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिनुभयो । नगर क्षेत्रभित्र हाल ३६ जना एचआइभी संक्रमित रहेका छन् । सो बजेटबाट संक्रमितहरुलाई पोषण खर्च उपलब्ध गराइने उहाँले बताउनुभयो ।

“आर्थिक वर्ष ०७९÷८० देखि एचआइभी संक्रमितहरुलाई नगरपालिकाले पोषण खर्च उपलब्ध गराउँदै छ ।”, उहाँले भन्नुभयो, “यसैको निरन्तरताका लागि हामीले चालू आवमा पनि एक लाख बजेट विनियोजन गरेका छौ ।”

आर्थिक बर्ष २०७९÷८० मा एचआइभी संक्रमितहरुलाई ३ दिने व्यवसायिक तालिमसहित उनीहरुलाई वस्तुगत टेवाका लागि प्रति व्यक्ति १२ हजार रुपैयाँका दरले उपलब्ध गराइएको छ । आर्थिक बर्ष २०८०÷८१ मा पोषण खर्च बाफत प्रति व्यक्त ६ हजारका दरले रकम उपलब्ध गराइएको थियो ।

यस्तै गत आवमा पनि ३५ जनालाई ५ हजार ७ का दरले पोषण खर्च उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । एआरटी औषधी सेवन गरिरहेका संक्रमितहरुलाई पोषणयुक्त खानेकुराको अभाव हुन नदिने उद्देश्यले नगरपालिकाले उनीहरुलाई पोषण खर्च उपलब्ध गराउन लागेको नगरप्रमुख गौरीसिंह रावलले बताउनुभयो ।

प्रतिक्रिया जनाउनुहाेस्