बैतडी: बैतडीको पाटन नगरपालिकाले वडा कार्यालयमा पुगेर योजनाको सम्झौता गर्न थालेको छ । नगरपालिकाले चालू आर्थिक वर्षमा कार्यान्वयन हुने सबै योजनाहरुको सम्बन्धीत वडा कार्यालयमै पुगेर सम्झौता गर्न थालेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा योजना शाखाका पदाधिकारीहरु नै वडा कार्यालयमा पुगेर योजनाहरुको सम्झौता गरिरहेको नगरप्रमुख गौरी सिंह रावलले जानकारी दिनुभयो । योजनाको सम्झौतता गर्न उपभोक्ताहरुले नगरपालिका नै धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्न वडा कार्यालयबाटै योजना सम्झौता भइरहेको उहाँले बताउनुभयो ।
सम्बन्धित वडामा पुगेर उपभोक्ता समितिसँग योजनाको सम्झौता गर्ने र उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना कार्यान्वयनका बिषयमा अभिमुखीकरण गर्ने कार्य भइरहेको पाटन नगरपालिकाका योजना शाखा प्रमुख बिरसिंह महताले बताउनुभयो ।
शुक्रबार पाटन नगरपालिका वडा नं ८ र १० का योजनाहरुको सम्झौता गरिएको छ । वडा नं ८ मा १६ र वडा नं १० मा १९ ओटा योजनाको सम्बन्धित उपभोक्ता समितिहरुसँग सम्झौता गरिएको योजना शाखा प्रमुख महताले जानकारी दिनुभयो ।
वडामै योजनाहरुको सम्झौता हुन थालेपछि पालिका धाउनुपर्ने समस्या घट्नुका साथै लाग्ने यातायत खर्च घटेपछि उपभोक्ता समितिका पदाधिकारीलाई सहज भएको पाटन नगरपालिका—८ का वडाअध्यक्ष हरिश बिष्टले बताउनुभयो । चालू आवमा कार्यान्वयन हुने १६ योजनाको सम्झौता गरिएको उहाँले जानकारी दिनुभयो ।
“योजनाको सम्झौता गर्ने बेलामा योजना कार्यान्वयन गर्न र गुणस्तरीय रुपमा सम्पन्न गर्न उपभोक्ता समितिका पदाधिकारीहरुलाई निर्देशन समेत दिने गरेका छौ”, वडाअध्यक्ष बिष्टले भन्नुभयो ।























