बैतडीमा पासोमा फसेको चितुवाको सकुशल उद्धार गरिएको छ । आइतबार राति जिल्लाको सिगास गाउँपालिका–२ धौलाडीको भिमराडीमा चितुवा पासोमा फसेको थियो ।
स्थानीयहरुले थापेको पासोमा फसेको चितुवालाई मंगलबार बिहान ११ बजेतिर सकुशल उद्धार गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी नरेश कर्णले बताउनुभयो । चितुवाको अगाडि पट्टीको दाँया खुट्टा पासोमा फसेको र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोलीले उद्धार गरेको सूचना अधिकारी कर्णले जानकारी दिनुभयो ।
पासोमा फसेको चितुवालाई बेहोस गरेर उद्धार गरिएको हो । उक्त चितुवालाई सिगास संरक्षित वन क्षेत्रमै छोडिने उहाँले बताउनुभयो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट प्राविधिकहरुको टोली आउनुपर्ने भएकाले चितुवाको उद्धारमा ढिलाइ भएको बताइएको छ ।
सामुदायिक वनको हाताभित्र थापेको पासोमा चितुवा फसेपछि डिभिजन वन कार्यालयले सामुदायिक वनलाई पत्राचार समेत गरेको छ । सामुदायिक वनको हाताभित्र कसले, के प्रयोजनका लागि पासो थापेको हो भन्ने कुरा खुलाउन पत्राचार गरिएको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ ।
प्रतिक्रिया जनाउनुहाेस्























