बैतडी: बैतडीको पाटन नगरपालिका—९ ले जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई न्यानो कम्बल वितरण गरेको छ । आइतबार वडाभित्र रहेका एक सय ९४ जना जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई न्यानो कम्बल बितरण गरिएको हो ।
वडाको चालू आर्थिक वार्षिक स्वीकृत बजेटबाट उनीहरुलाई न्यानो कम्बल वितरण गरिएको वडाअध्यक्ष कालु सिंह भाटले जानकारी दिनुभयो । ६० वर्षमाथीका १३७ जना जेष्ठ नागरिक र ५७ जना एकल महिलाहरुलाई न्यानो कम्बल वितरण गरिएको उहाँले बताउनुभयो ।
“चिसो मौसम पनि सुरु भएकाले जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई सम्मान स्वरुप न्यानो कम्बल वितरण गरिएको हो।”, उहाँले भन्नुभयो, “वडाभित्रका सबै जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई समेटिएको छ ।”
न्यानो कम्बल वितरण कार्यक्रम वडाअध्यक्ष कालु सिंह भाटको अध्यक्षमा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावल रहनुभएको थियो ।























