बैतडी: बैतडीमा चिया खेतीका लागि सम्भाव्यता अध्ययन गरिएको छ । यहाँको सुर्नया गाउँपालिकाका ३ वडाका उच्च क्षेत्रमा चिया खेतीका लागि प्रारम्भिक सम्भाव्यता अध्ययन गरिएको हो ।
गाउँपालिकाले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम अनुसार प्राविधिक सहितको टोलीले प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताउनुभयो । नेपाल राष्ट्रिय चिया तथा कफी विकास बोर्डका चिया विकास अधिकृत गौरव लुइँटेलसहितको टोलीले चिया खेतीका लागि प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको उहाँले जानकारी दिनुभयो ।
वडा नम्बर ५ को धुलिधार र रडीगाउँ, वडा नम्बर ६ को धुलिधार,कलालपसे, जित्कीजुँवाड र मुसे तथा वडा नम्बर ७ को जित्कीजुँवाड, दाङल लगायतका क्षेत्रमा प्रारिम्भक अध्ययन गरिएको हो ।
“बोर्डका अधिकारीहरुले सम्भावित स्थानहरुको माटो नमूना परीक्षणका लागि लगेका छन् । यसको रिपोर्ट आउन दुई हप्ता लाग्छ”, उहाँले भन्नुभयो, “अहिले प्रारम्भिक सम्भाव्यता अध्ययन गरिएको हो। रिपोर्ट आएपछि कसरी अगाडि बढ्ने भन्ने बिषयमा छलफल गर्छौं ।”
गाउँपालिकाले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा उच्च क्षेत्रमा चिया खेतीको सम्भाव्यता अध्ययन गर्ने कुरा उल्लेख गरेको थियो । वैकल्पिक खेतीको रुपमा अगाडी बढाएर बाँझो जमीनको सदुपयोग गर्ने र पहाडी क्षेत्रमा बढेको बसाइसराइ रोक्न सकिने अध्यक्ष कुवँरले बताउनुभयो ।





















