बैतडीमा भण्डारण सहितको मिनि ब्लड बैंक स्थापना

Image

बैतडी: बैतडीमा मिनि ब्लड बैंक स्थापना गरिएको छ । आइतबार जिल्ला अस्पतालमा भण्डारणसहितको मिनि ब्लड बैंक स्थापना गरिएको हो ।

दुर्घटना, प्रसूति, शल्यक्रिया लगायतका बिरामीका लागि समयमै रगत उपलब्ध गराउन कठिनाइ भइरहेकाले बिरामीलाई रगतको अभाव हुन नदिन मिनि ब्लड बैंक  स्थापना गरी सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी पूण्य विक्रम पौडेलले जानकारी दिनुभयो ।

“यसअघि रगत आवश्यकता परेको समयमा बिरामीले सुरक्षा निकायकै प्रतिनिधिहरूको भर पर्नु पर्ने बाध्यता थियो”उहाँले भन्नुभयो “यहाँ हुने रगत अभावको समस्यालाई समाधान गर्न ब्लड बैंक महत्त्वपूर्ण मानिएको छ ।”

मिनि ब्लड बैंक स्थापनाका लागि नेपाल रेडक्रस सोसाइटी बैतडी शाखा , दशरथचन्द नगरपालिका र जिल्ला अस्पतालल बैतडीबिच जिम्मेवारी बाडफाट गरिएको थियो ।

जिल्ला अस्पतालमा सञ्चालनमा ल्याइएको मिनि ब्लड बैंकका लागि एकजना स्वास्थ्य कर्मचारी दशरथचन्द नगरपालिकाले खटाएको छ । त्यस्तै रेडक्रसको समन्वय र आवश्यक उपकरण र अन्य सामग्रीहरु जिल्ला अस्पतालले उपलब्ध गराएको जिल्ला अस्पतालका  सूचना अधिकारी हरिश प्रसाद पन्तले बताउनुभयो । आश्यकता हुने बित्तिकै बिरामीलाई रगत उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो ।

नियमित ब्लड सङ्कलन हुन थालेपछि खपत नहुने रगतलाई डडेल्धुरा, धनगढी र कञ्चनपुरका ब्लड बैंकमा पठाइने व्यवस्था मिलाइएको छ । यसले रगत नष्ट हुने समस्या कम हुने र आन्तरिक सेवा प्रवाह सहज हुने अपेक्षा गरिएको प्रजिअ पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया जनाउनुहाेस्