बैतडी: आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि बैतडीमा दुई हजार छ सयबढी मतदाता थपिएका छन् । यहाँ राष्ट्रिय परिचयपत्र र बायोमेट्रिक विद्यिबाट दुई हजार छ सय ५२ मतदाता थपिएका छन् ।
बायोमेट्रिक विद्यिबाट कार्यालयमा आएर ८ सय ४ र राष्ट्रिय परिचयपत्रका आधारमा १ हजार ८ सय ४८ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालय बैतडीका निमित्त प्रमुख पुरुषोत्तम जोशीले जानकारी दिए । “मतदाता नामावलीमा दर्ता भएकामध्ये बढीजसो युवा मतदाताहरु रहेका छन्” उनले भने “विगतका निर्वाचनभन्दा फागून २१ गते हुने निर्वाचनमा युवा मतदाताहरुमा उत्साह बढेको छ ।”
निर्वाचन कार्यालयमा पुगेर बायोमेट्रिक विधिबाट ८०४ मध्ये ५२९ पूरुष र २७५ महिलाले मतदाता नामावलीमा नाम दर्ता गरेका छन् । यस्तै राष्ट्रिय परिचयपत्रका आधारमा फोटोसहितको मतदाता नामावलीमा महिला पुरुष छुट्याउने काम भैरहेको कार्यालयले जनाएको छ ।
सरकारले फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्य निर्वाचनलाई लक्षित गरी गत असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म मतदाता नामावली सङ्कलन गरेको हो । यसअघि जिल्लामा १ लाख ५४ हजार २१६ जना मतदाता रहेका थिए ।





















