बैतडीसहित सुदूरपश्चिममा आज ओल्के पर्व: नयाँ अन्न चढाइयो, ‘बुढी’पनि हालिदै

Image

बैतडी: बैतडीसहित सुदूरपश्चिममा आज ओल्के संक्रान्ती मनाइएको छ । हरेक वर्ष भाद्र १ गतेका दिन यो पर्व मनाउने गरिन्छ । यस पर्वपछि अन्य पर्व पर्ने भएकाले यसलाई जेठो पर्व पनि भन्ने गरिएको छ ।

आजका दिन बिहानै नुवाइधुवाइ गरेर बारीमा फलेको अन्न मकै र पिडालुका गाभालाई नजिकैको मन्दिरमा चढाउने गरिन्छ । उब्जनी भएको अन्न वा अन्य उपजलाई पहिले भगवानलाई चढाउनु पर्ने त्यसपछि मात्रै आफुले खानुपर्ने मान्यता अनुसार देविदेवताको धानमा अन्न चढाउने गरिएको संस्कृतिका जानकार हरिदत्त भट्टले जानकारी दिए ।

ओल्के (ओल्को)भन्नाले आफूभन्दा ठूलो र सम्मानित घरपरिवार वा व्यक्तिलाई दिइने सगुन वा उपहार भन्ने बुझिन्छ।

आजैका दिन गाउँ नजिकको डाँडामा जम्मा भएर रूखबिरुवाका हाँगा र झ्याङ काटेर एक ठाउँमा थुप्रो बनाउने गरिन्छ। यसलाई स्थानीय भाषामा ‘बुढी हालेको’ भनिन्छ।
यसरी बनाइएको थुप्रोलाई असोज संक्रान्तिको साँझ गाउँका सबैजना भेला भएर पोल्ने गर्छन्। यसलाई ‘बुढी पोल्ने’ भनिन्छ। बुढी पोल्ने काम सकिएसँगै गाउँमा अनिष्ट एवं कुनै रोगको महामारी नआउने जनविश्वास रहिआएको छ।

प्रतिक्रिया जनाउनुहाेस्