मेलौली–३ मा सेवा प्रवाह ठप्प, घटना दर्ता र सिफारिसको लागि पालिका धाउन बाध्य

Image

बैतडी: बैतडीको मेलौली नगरपालिका वडा नं ३ मा विद्युत सेवा नहुदा सेवा प्रवाहमा समस्या भएको छ । वडा कार्यालयमा विद्युतको सुविधा नहुदा वडाका सबैजसो सेवाहरु प्रभावित बनेको वडा कार्यालयले जनाएको छ ।

सोलारको माध्यमबाट विद्युतीय सामाग्री सञ्चालनगरी सेवा प्रवाह गरिने गरिएकोमा विगत करिब दुई महिनादेखि सोलारमा समेत समस्या आएपछि सेवा प्रवाह ठप्प बनेको छ ।

ब्याक्तिगत घटना दर्ता, नागरिकताको अनलाईन सिफारिस, सामाजिक सुरक्षा भत्ता नविकरणलगायत अनलाईनबाट हुने सबैजसो सेवाहरु ठप्प भएको वडा सचिव बिनिता चन्दले जानकारी दिइन् । चालु आर्थिक वर्षदेखि नागरिकता सिफारिस समेत अनलाइनबाटै हुने भएकाले सिफारिसका सबै कामहरु प्रभावित बनेको वडा सचिव चन्दले बताइन् ।

‘विद्युतको सुविधा छैन, सोलारमा बेलाबेला समस्या आइरहन्छ, इन्टरनेटको पनि राम्रो सुविधा छैन,’ वडा सचिव चन्दले भनिन्, ‘सबै प्रकारका अनलाईन सेवाहरु छन् तर विद्युत र इन्टरनेटको अभावमा समस्या आइरहेको छ,’ उनले भनिन् ।
विद्युत नहुदा सोलारको माध्यमबाट सेवा प्रवाह भइरहने गरेकोमा सोलारमा बेला बेला समस्या आइरहने गरेकोले सेवा प्रभावित भइरहने गरेको वडा कार्यालयको भनाइ छ ।

विद्युत र इन्टरनेट अभावमा वडा कार्यालयबाट सेवा पाउनै नसकिएपछि सेवाग्राहीहरु पालिका धाउन बाध्य भएका छन् । वडा कार्यालयमा नागरिकताको सिफारिस नपाएपछि एक हजार रुपैया खर्च गरेर पालिका जान बाध्य हुनु परेको स्थानीय सुरेन्द्र चन्दले गुनासो गरे ।

वडा कार्यालय नजिकैबाट केही गाउँहरुमा विद्युत पु¥याइएको भएपनि वडा कार्यालय र वडासँगै रहेका केही टोलहरुमा विद्युत पुग्न सकेको छैन ।
सोलारमा देखिएको समस्या सामाधानको लागि प्राविधिक मगाएको र केही दिनमा नै समस्या समाधान हुने वडा अध्यक्ष गगन सिंह भाटले बताए । ‘पालिकाबाट खरिदआदेस ल्यार काम सुरु गरेका छौँ, आजभोली नै सामाग्री ल्याएर काम थाल्छौँ, धेरै समस्या छैन,’ वडा अध्यक्ष भाटले भने ।

विद्युत वितरण केन्द्र बैतडीले पनि विद्युतका सामाग्रीहरु ल्याउने आस्वासन मात्रै दिएको वडा अध्यक्ष भाटले गुनासो गरे । विद्युत वितरण केन्द्रका प्रमुखले २ वर्ष पहिले नै आवस्यक तारसहितका ट्रान्समिटर उपलब्ध गराउने बताएको भएपछि हालसम्म कुनै सुनुवाई नगरेको वडा अध्यक्ष भाटले बताए । ‘धेरै पटक विद्युतका पोलसहितका तार र ट्रान्स मिटर उपलब्ध गराउनको लागि आग्रह गर्दै आएका हौँ, तर वितरण केन्द्रबाट सहयोग भएको छैन,’ वडा अध्यक्ष भाटले भने ।

विद्युत वितरण केन्द्र बैतडीका प्रमुख जनार्दन पौडेलले पालिकास्तरबाट बजेटको व्यावस्थापन भएको अवस्थामा सहज हुने बताए । ‘गत वर्ष मेलौली ३ मा धेरै काम भएको हो, वडा कार्यालय हुदै लाइन विस्तार गर्ने कार्यक्रम थियो, तर त्यहा अर्काे ठाउँबाट लाइन तानियो, पालिकास्तरबाट बजेटको व्यवस्थापन भएमा आगामी भदौबाट काम गर्ने प्रयास गराँैला,’ वितरण केन्द्र प्रमुख पौडेलले भने ।

प्रतिक्रिया जनाउनुहाेस्