बैतडीको सिगास गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको छ। गाउँपालिकाभरीका खोप पाउनुपर्ने उमेरका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएको सुनिश्चित भएपछि मंगलबार पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।
५ वर्षसम्मका १ हजार ८७ जना बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएको एकिन भएपछि गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको सिगास गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक भिम सिंह ऐरीले बताए । गाउँपालिकालाई हरेक बर्ष पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा गर्ने गरिएको छ । यसको निरन्तरता र दिगोपनाका लागि सरोकारवालाहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।
बालबालिकाहरुलाई विभिन्न १३ ओटा रोगविरुद्ध राष्ट्रिय खोप तालिका अनुसार खोप दिने गरिएको छ । गाउँपालिकालाई पूर्णखोप सुनिश्चित घोषणा कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष हरिसिंह धामीले स्वास्थ्य क्षेत्र सुधारका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताए ।
यस्तै पूर्णखोप सुनिश्चित घोषणमा सहयोग पुर्याएको भन्दै ९ ओटै वडामा रहेका ११ ओटा स्वास्थ्य संस्थाहरुलाई प्रशंसापत्र प्रदान समेत प्रदान गरिएको गरिएको गाउँपालिकाले जनाएको छ ।





















