बैतडीको झुलाघाट नाकाबाट भित्रिएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको पिथौरागढबाट फर्किएका बझाङका ४८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले जानकारी दिए ।
शनिवार झुलाघाटमा रहेको हेल्थ डेस्कमा परीक्षण गर्दा ती पुरुषमा कोभिड १९ पुष्टि भएको उनले जानकारी दिए । उनलाई कोरोना संक्रमण भएको शंका लागेपछि परीक्षण गर्दा पुष्टि भएको हो ।
कोरोना पुष्टि भएका ति पुरुषलाई डबल मास्क लगाएर घर पठाइएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । होल्डीङ् सेन्टर नभएर होम क्वारिटाइनमा बस्न भनिएको सूचना अधिकारी लेखकले बताए ।
भारतमा पछिल्लो समयमा कोरोनाको संक्रमीतको संख्या बढेपछि त्यहाँबाट फर्किनेहरुको सिमा नाकाहरुमा कोरोनाको परीक्षण गर्ने गरिएको छ ।
“पर्याप्त मात्रामा कोरोना परीक्षण गर्ने किट नहुँदा सबै परीक्षण गर्न सक्ने अवस्था छैन्”, सूचना अधिकारी लेखकले भने “संकास्पद व्यक्तिहरुलाई परीक्षण गर्ने गरिएको हो । ”





















