बैतडीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीबाट स्वास्थ्य बीमा पुनः शुरु गर्ने तयारी

Image
बैतडीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीबाट पुनः स्वास्थ्य बीमा शुरु गर्ने तयारी भएको छ । स्वास्थ्य बीमा अनलाइन प्रणालीमा गएपछि गएको दुई बर्ष यतादेखि रोकिएको सेवा पुनः सुचारु गर्ने तयारी भएको हो ।

सफ्टवेयर खरीदका लागि मेलौली नगरपालिकाले ५ लाख रुपैयाँ बजेट विनियोजन गरेपछि स्वास्थ्य बीमा सेवा शुरु गर्नका लागि आवश्यक सफ्टवेयर किन्ने तयारी भएको स्वास्थ्य बीमा बोर्ड बैतडीका प्रमुख जमन बडालले बताए ।

सफ्टवेयर खरीद गरेपछि केही दिनभित्र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीलाई प्रथम बिन्दु मानेर सेवा दिइने बडालले बताए ।अहिले यस बिषयमा छलफल भैरहेको छ ।

यसअघि त्यो क्षेत्रका नागरिकका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रथम बिन्दु तोकिएको थियो । स्वास्थ्य बीमामा आवद्ध भएका नागरिकहरुलाई प्रथम बिन्दुबाट प्राप्त हुने सेवा सोही ठाउँमा उपलब्ध हुन्छ भने रेफर गर्नुपर्नेहरुलाई पनि सोही ठाउँबाट रेफर गर्नुपर्ने प्रावधान रही आएको छ ।

बैतडीमा २९ हजार ८३ परिवारका ५२ हजार जना स्वास्थ्य बीमामा आवद्ध  भएका छन् । स्वास्थ्य बीमामा आवद्ध भएका सदस्यहरुले १ लाख सम्मको उपचार निशुल्क रुपमा पाउने गरेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्