बैतडी सुपर लिग टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुँदै, विजेताले ५ लाख पाउने

Image

बैतडीमा बैतडी सुपर लिग (बीएसएल) टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा आगामी माघ १६ गतेदेखी सञ्चालन हुने भएको हो ।

जिल्ला क्रिकेट संघले पत्रकार सम्मलेनमार्फत प्रतियोगिता बारे जानकारी गराएको हो । प्रतियोगिताको विजेताले नगद पाँच लाखसहित ट्रफि, मेडल र प्रमाणपत्र तथा उपबिजेताले नगद दुई लाख ५० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष लोगराज जोशीले जानकारी दिनुभयो ।

प्रतियोगिताका म्यान अफ द सिरिजले २५ हजार रुपैयाँ पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन्। उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरले जनही १५ हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र तथा इमर्जिङ प्लेयरले १० हजार रुपैयाँसहित  मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

यसैगरी, प्रत्येक खेलमा म्यान अफ द म्याच हुने खेलाडीलाई पाँच हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ।
प्रतियोगितामा जिल्लाका १० वटै स्थानीय तहका टोली सहभागी हुनेछन्। पुरुषतर्फको प्रतियोगिता टी–२० फरम्याटमा ग्रुप लिग, सुपर फोर र फाइनल चरणमा खेलाइनेछ।

प्रतियोगिता  दशरथचन्द स्टेडियममा सञ्चालन हुनेछ । प्रत्येक टोलीमा १४ जना खेलाडी र तीन जना अफिसियल रहने व्यवस्था गरिएको छ। टोलीमा सम्बन्धित पालिकाका कम्तीमा ८ जना खेलाडी समावेश गर्नुपर्नेछ। बैतडीका अन्य पालिकाबाट बढीमा तीन जना र सुदूरपश्चिम प्रदेशका अन्य जिल्लाबाट बढीमा तीन जना खेलाडी सहभागी गराउन सकिने आयोजकले जनाएको छ ।

टिम दर्ता शुल्क एक लाख ५० हजार तोकिएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई जिल्लाको आधिकारीक टि—२० टिमका लागि छनोट गरिने जोशीले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्