बैतडी । सुर्नया गाउँपालिका–७ का वीरबहादुर बोहराको मोबाइल बैंकिङ ह्याक गरेर ५ लाख २४ हजार रुपैयाँ चोरी भएको छ ।
बोहराका अनुसार असोज १५ गते २ लाख ८७ हजार र असोज १६ गते २ लाख ३७ हजार रुपैयाँ गरी उनको खाताबाट रकम चोरी भएको हो । विदेशमा मिहिनेत गरेर कमाएको रकम मोबाइल बैंकिङमार्फत क्षणभरमै गुमेपछि आफू रित्तिएको उनले बताएका छन् ।
उनका अनुसार असोज १५ गते मोबाइलको स्क्रिन अकस्मात अफ भएको थियो । त्यसबेला कुनै शंका नगरेका बोहराले भोलिपल्ट खाता जाँच गर्दा ८४ पैसा मात्रै बाँकी रहेको थाहा पाएका थिए ।
‘मोबाइलमा अकस्मात स्क्रिन अफ भयो, केही भएको होला भनेर चासो दिइएन । भोलिपल्ट खाता चेक गर्दा ८४ पैसा मात्रै देखियो,’ बोहराले भने, ‘विदेशमा मिहिनेत गरेर कमाएको सबै रकम गायब भयो ।’
पहिलो दिन रकम चोरी हुँदा मोबाइलमा कुनै म्यासेजसमेत नआएको उनको भनाइ छ ।
घटनाबारे बोहराले प्रहरीमा निवेदन दिएका छन् । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
पछिल्लो समय बैतडीमा मोबाइल बैंकिङमार्फत रकम चोरी हुने घटना बढ्दै गएको बताइएको छ ।
मोबाइल बैंकिङ ह्याक गरेर बैतडीका बोहराको ५ लाख २४ हजार चोरी

प्रतिक्रिया जनाउनुहाेस्












