बैतडी: बैतडीमा ट्राफिक नियम उल्लंघन गर्ने एक हजार पाँच सयबढी सवारीसाधन कारवाहीमा परेका छन्। गत आर्थिक वर्ष २०८२÷०८३ मा एक हजार ५०८ सवारी साधन कारबाहीमा परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहका अनुसार उक्त अवधिमा ट्राफिक नियम उल्लंघन गरेका सवारीसाधनमाथि गरिएको कारवाहीबाट १२ लाख ९८ हजार राजस्व संकलन भएको छ ।
कारवाहीमा परेका सवारीमध्ये ट्रक तथा ट्याङ्कर १७०, बस तथा मिनिबस १९, जिप–कार–भ्यान ७५४, ट्याक्टर ९१, मोटरसाइकल ३५१, टेम्पो तथा अन्य सवारी १२३ रहेका उहाँले जानकारी दिनुभयो ।
क्षमताभन्दा बढी यात्रु बोक्ने, चालक अनुमति पत्र तथा अन्य आवश्यक कागजात नबोक्ने, हेल्मेट र सिटबेल्ट प्रयोग नगर्ने, तीव्र गतिमा सवारी चलाउने तथा अन्य ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाहीमा परेका उहाँले बताउनुभयो ।
यस्तै एक वर्षको अवधीमा यहाँ ६२ सवारी साधन दुर्घटनामा परेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता सिंहका अनुसार गत आवमा ति दुर्घटनामा परी ३४ जनाको मृत्यु भएको छ । यसैगरी १७६ जना घाईते भएका उहाँले जानकारी दिनुभयो ।
सडक दुर्घटना न्यूनीकरणका गर्न ट्राफिक नियमको पूर्ण पालना गर्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन तथा क्षमता भन्दा बढी यात्रु नबोक्न जिल्ला प्रहरी कार्यालय बैतडीले अनुरोध समेत गरेको छ।













