बैतडी: बैतडीमा कृषक पाठशाला स्थापना गरिएको छ । यहाँको सिगास गाउँपालिका–१ बचकोटमा किसानलाई बारीमै कृषि प्रणालीबारे ज्ञान दिन पाठशाला स्थापना गरिएको हो ।
दिगो आम्दानी मार्फत महिला उद्यमीहरुको सशक्तिकरण परियोजना अन्तरगत जलवायुमैत्री कृषक पाठशाला संचालन गरिएको परियोजना प्रमुख भूपाल बोहराले जानकारी दिनुभयो । पाठशालाले कृषकहरुलाई तरकारी खेती सम्बन्धित परामर्श दिने तथा रोग किराको नियन्त्रणका विधि अवलम्बन गर्दै उत्पादनमा वृद्धि गर्न टेवा पुर्याउने उहाँले बताउनुभयो ।
कृषि प्राविधिकले कृषककै बारीमा गएर प्रयोगात्मक रुपमा बाली लगाएर परम्परागत र तालिम दिँदा किसानलाई सहज हुने बताईएको छ।
जलवायुमैत्री तवरले कृषि उपज उत्पदान गरिने लक्ष्य राखिएको छ । रसायनिक मल तथा विषाधीको न्युनिकरण गरी जलवायुमैत्री मलबाट उत्पदान वृद्धि गराउने मुख्य उद्देश्य रहेको परियोजनाका कृषि प्राविधिक दिपेश धामीले जानकारी दिनुभयो ।
यसअघि यस परियोजनाबाट सुर्नया गाउँपालिका र पाटन नगरपालिकामा पनि कृषक पाठशाला सञ्चालन गरिएको थियो ।
रसायनिक विषादीको प्रयोगमा कमी ल्याउदै तरकारी खेतीमा अन्य बैल्पिक विधिबाट रोग किराको नियन्त्रणका लागि कृषक पाठशाला सञ्चालन गर्न लागिएको जनाएको छ।













