बैतडी: बैतडीको पुर्चाैडीमा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । पुर्चाैडी नगरपालिका र च्यारिटी हेल्थ फाउण्डेसनको संयुक्त आयोजना, धनगढी नेत्रालयको प्राविधिक सहयोगमा आँखा शिविर सञ्चालन हुने जनाइएको छ ।
बैशाख ११ र १२ गते आँखा परीक्षण तथा शल्यक्रिया शिविर सञ्चालन हुने पुर्चाैडी नगरपालिकाका नगरप्रमुख दीपकबहादुर बमले जानकारी दिनुभयो । वडा नम्बर १ स्थित कोभिड अस्पताल पुरानो हाट स्वास्थ्यचौकी भवनमा सञ्चालन गरिने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
शिविरमा निशुल्क दृष्टि परीक्षण चेकजाँच तथा औषधी वितरण, मोतीबिन्दु तथा मासु पलाएका बिरामीहरुको निशुल्क शल्यक्रिया र निशुल्क चस्मा वितरण गरिने च्यारिटी हेल्थ फाउण्डेसनका डाइरेक्टर अनिल न्यौपानेले बताउनु भयो ।
स्थानीयस्तरमै नागरिकहरुलाई आँखा स्वास्थ्यसम्बन्धी सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिन लागेको नगरप्रमुख बमले बताउनुभयो । आँखा सम्बन्धी समस्या भएका नागरिकहरुलाई शिविरमा आएर सेवा लिन नगरपालिकाले आग्रह गरेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्




















