बैतडीमा बोलेरो पिकअप र ट्याक्टरसहित २१ लाख बढीका भन्सार छलीका सामान बरामद

Image

बैतडी: बैतडीमा २१ लाख बराबरका अवैध सामान बरामद गरिएको छ । सशस्त्र प्रहरीले पञ्चेश्वर गाउँपालिका–४ हल्दुविनायकबाट बोलेरो पिकअप र ट्याक्टरसहित २१ लाख ८ हजार ८१० रुपैँया बराबरका अवैध सामान बरामद गरेको हो ।

आइतबार बिहान ३ बजेतिर भारतबाट भन्सार छली गरि ल्याइएका अवैध सामानसहित बोलेर पिकअप र ट्याक्टरलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका सशस्त्र प्रहरी नायब उपरीक्षक जंगबहादुर कुँवरले जानकारी दिनुभयो ।

२३ क्विन्टल चिनी, पाँच क्विन्टल मिश्री र अन्य किरानका सामान बरामद गरिएको उहाँले बताउनुभयो । यस्तै सुपप्र ०१ ००१ च २७८९ नम्बरको बोलेरो पिकअप र सुपप्र ०१ ००२ त ५०९० नम्बरको को ट्याक्टरलाई समेत नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक कुँवरले जानकारी दिनुभयो ।

गोप्य सुचनाका आधारमा सशस्त्र प्रहरी निरीक्षक रमेश प्रसाद पाण्डेयको नतृेत्वमा खटिएको मोवाइल टोलीले बरामद गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक कुँवरले जानकारी दिनुभयो ।

“केही दिन पहिलेदेखी नै भन्सार छलीका सामान भित्रीदैछन् भन्ने गोप्य सूचना पाएका थियौँ” कुँवरले भन्नुभयो “सोहीअनुसार हामीले जिल्लाबाट टोली खटाएका थियौँ ।”

भन्सारका छलीका सामान भित्र्याउन संलग्न व्यक्तिहरु भने प्रहरीको टोली देख्ने बित्तिकै भागेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएका अवैध सामानसहित बोलेरो पिकअप र ट्याक्टरलाई आवश्यक कारवाहीका लागि महाकाली भन्सार कार्यालय झुलाघाटलाई बुझाइएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्