बैतडी: व्यावसायिक पशुपालनलाई दिगो र आत्मनिर्भरमुखी बनाउन बैतडीमा पशुको कृत्रिम गर्भाधान सेवा सुरु गरिएको छ । यहाँको पञ्चेश्वर गाउँपालिकाले नश्ल सुधार गरेर पशुलापनमा संलग्न किसानको आयआर्जनमा वृद्धि गर्ने लक्ष्यले सो सेवा सुरु गरेको हो।
यहाँका अधिकांश किसानहरु पशुपालनमा गरिहेकाले गाई र भैँसीको नश्ल सुधारका लागि कृत्रिम गर्भाधान सेवा सुरु गरिएको गाउँपालिकाका पशु शाखा प्रमुख गामु पुनले बताउनुभयो । गाउँपालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार कृत्रिम गर्भाधान सेवा सञ्चालनमा ल्याएको उहाँले जानकारी दिनुभयो ।
“पशुपालक किसानलाई थप लाभान्वित बनाउन कृत्रिम गर्भाधान गर्न सुरु गरिएको छ”, उहाँले भन्नुभयो “कृत्रिम गर्भाधान सम्बन्धी तालिम प्राप्त प्राविधिक किसानहरुको गोठमा नै पुगेर सेवा दिरहेका छन् ।”
हाल कृत्रिम गर्भाधान सेवा गाईमा जर्सी तथा भैँसीमा मुर्रा जातको उन्नत नश्लको सिमेन प्रयोग गरी सञ्चालन भैरहेको गाउँपालिकाले जनाएको छ । कृत्रिम गर्भाधान सेवा यसअघि गतवर्षदेखी यहाँको पाटन नगरपालिकाले पनि सुरु गरेको थियो ।
गाई–भैँसीमा कृत्रिम गर्भाधान गराउँदा उत्पादन वृद्धि तथा विकास हुने जनाइएको छ। कृत्रिम गर्भाधान उन्नत जातका पशु उत्पादन हुने र पशुपालक किसानलाई फाइदा पुग्न भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीका प्रमुख गुमानीदत्त पन्तले बताउनुभयो ।
नश्ल सुधार गर्न कृत्रिम गर्भाधानका लागि पशुपालक किसानले खबर गरेको अवस्थामा भेटेरेनरी अस्पतालबाट नै तालिम प्राप्त पशु प्राविधिक गएर सेवा दिने गरेको समेत प्रमुख पन्तले जानकारी दिनुभयो ।




















