बैतडी: प्रतिनिधीसभा सदस्य निर्वाचका लागि बैतडीमा मतपत्र र आवश्यक निर्वाचन सामग्री आइपुगेको छ । यही फागुन २१ गते हुने निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फका मतपत्र र निर्वाचन सामग्री आइपुगेको हो ।
प्रत्यक्षतर्फका लागि एक लाख ६८ हजार र समानुपातिक तर्फका लागि एक लाख ७१ हजार मतपत्र आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बैतडीका साहयक निर्वाचन अधिकृत बिष्णुराज पन्तले जानकारी दिनुभयो ।
मंगलबार दुवैतर्फका मतपत्र यहाँ आइपुगेको हो ।
निर्वाचनका लागि अन्य सामग्री पनि जिल्ला आइपुगेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि आवश्यक पर्ने निर्वाचन सामग्री आइपुगेको निर्वाचन कार्यालय बैतडीका प्रमुख खगेन्द्र भारतीले जानकारी दिनुभयो । मतपेटिका अघिल्लो निर्वाचनकै प्रयोग गरिने भएकाले त्यसबाहेक सामग्री निर्वाचन आयोगबाट आइपुगेको उहाँले बताउनुभयो ।
आयोगबाट आइपुगेका सामाग्रीहरु रुजु गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको र लगत्तै सम्बन्धित मतदान केन्द्रमा प¥याइने बताइएको छ ।
निर्वाचन गराउनको लागि तयारी धमाधम भइरहेको निर्वाचन कार्यालय बैतडीले जनाएको छ । जिल्लामा १ लाख ५६ हजार ३ सय ७२ मतदाता रहेका छन् । एक निर्वाचन क्षेत्र रहेको बैतडीमा एक स्वतन्त्रसहित ११ जनाको उम्मेदवारी परेको छ । यहाँ एक अस्थायीसहित २१५ मतदान केन्द्र रहेका छन् । यस्तै १२९ मतदानस्थलमध्ये ३३ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा रहेका छन् । जिल्लाका २८ वटा मतदानस्थल संवेदनशील र ६८ वटा मतदानस्थल समान्यको सूचीमा रहेका उहाँले बताउनुभयो ।




















