बैतडीमा मतदाता शिक्षाका लागि ८४ जना स्वयंसेवक खटिने

Image

बैतडी: बैतडीका सबै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै यहाँका ८४ ओटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको हो ।
बदर मतको संख्या कम गर्न र निर्वाचनमा धेरै मतदाताको सहभागीता गराउन आगामी फागुन ३ गतेदेखी १७ गतेसम्म प्रत्येक वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिनुभयो । यसका लागि ८४ जना मतदाता शिक्षा स्वयंसेवक खटिने उहाँले बताउनुभयो ।

बदर मतको संख्या घटाउनका लागि मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सही तरीकाले मतदान गर्ने बिषयमा मतदाता शिक्षा स्वयंसेवकहरुले मतदातालाई उनीहरुकै घरदैलोमा पुगेर जानकारी गराउने जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुयो । विशेषगरी नयाँ मतदाता, पहिलो पटक मतदान गर्ने युवा, ज्येष्ठ नागरिक तथा कम साक्षर मतदातालाई लक्षित गरी व्यवहारिक अभ्याससहित कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो ।
“बदर मतको संख्या घटाउन फागुन ३ गतेदेखी मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुन्छ ।”, उहाँले भन्नुभयो, “मतदाता शिक्षा स्वयंसेवकले सही तरिकाले मतदान गर्ने बिषयमा शिक्षा दिनेछन्।”

कार्यक्रमअन्तर्गत मतपत्रमा सही चिन्ह कसरी लगाउने, समानुपातिक र प्रत्यक्ष प्रणालीको भिन्नता, मतदान केन्द्रमा पालना गर्नुपर्ने आचारसंहिता तथा मतदानको गोपनीयतासम्बन्धी विषयमा जानकारी दिइनेछ । जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र निर्वाचन सम्पर्क व्यक्तिहरुसँग मंगलबार छलफल तथा अन्तरक्रिया समेत गरेको छ ।

मतदाता शिक्षा कार्यक्रममा खटिने मतदाता शिक्षा स्वयंसेवकहरुलाई आ–आफ्नो स्थानीय तहमा सक्रियताका साथ खटाउने बिषयमा उनीहरुसँग छलफल भएको निर्वाचन अधिकारी भारतीले बताउनुभयो । यहाँ १२९ मतदानस्थलमा २१४ मतदान केन्द्र रहेका छन् भने एक लाख ५६ हजार ३७२ जना मतदाता छन् । एकमात्र निर्वाचन क्षेत्र रहेको यहाँ ११ जना चुनावी मैदानमा रहेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्