बैतडीका दुई हजार ४५३ किशोरीलाई एचपीभी खोप लगाइने

Image

बैतडी: बैतडीका दुई हजार चार सयबढी किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप लगाइने भएको छ । ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) खोप अभियान अन्तर्गत यहाँका दुई हजार ४५३ जना किशोरीलाई खोप लगाइने भएको हो ।

कक्षा ६ मा अध्ययनरत, विद्यालय नजाने १० वर्ष उमेरका किशोरी तथा गवर्ष छुटेका कक्षा ७ देखी १० सम्म अध्ययनरत किशोरीलाई एचपीभी खोप लगाइने स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिशप्रसाद भट्टले जानकारी दिनुभयो । पाठेघरको मुखको क्यान्सरको रोकथामका लागि यहाँका १० ओटै स्थानीय तहमा खोप अभियान सञ्चालन गरिने उहाँले बताउनुभयो ।

कक्षा ६ मा अध्ययनरत २३ सय ८६ जना, गत बर्षको अभियानमा छुटेका ६१ जना र विद्यालय बाहिर रहेका १० बर्ष उमेरका ६ जना किशोरी गरेर २४ सय ५३ जनालाई खोप दिइने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

यस अभियानका लागि ३१४ खोप केन्द्र तोकिएको छ । गत वर्षको एचपीभी खोप अभियान अन्तर्गत १० हजार ३१० जनालाई एचपीभी खोप दिइएको थियो ।

माघ २७ गतेदेखी फागुन २ गतेसम्म खोप अभियान सञ्चालन हुने भएकाले खोप सुरक्षीत ढुक्क भएर खोप लगाउन स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताउनुभयो ।उहाँका अनुसार खोप अभियानका लागि २५४ जना स्वास्थ्यकर्मी र ३०६ जना स्वास्थ्य स्वयमसेवकहरु परिचालन गरिनेछन् ।

प्रतिक्रिया जनाउनुहाेस्