बैतडीमा खडेरीले सुक्दै हिउँदे बाली

Image

बैतडीः लामो समयको खडेरीले बैतडीमा हिउँदे बाली सुक्न थालेको छ । माघमहिनाको दोस्रो हप्ता सुरु भइसक्दा समेत पानी नपर्दा बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा हिउँदे बाली सुक्न थालेपछि किसानहरु चिन्तित बन्न थालेका छन् ।

हिउँद सकिन केही समय मात्रै बाँकी छ । जसका कारण यहाँका किसानहरुले लगाएको जिल्लामा गहुँ, जौं, मसुरो, तोरी, केराउलगायतका बालीहरु सुक्न थालेका छन् ।पानी नपर्दा खडेरीले हिउँदेबाली सुकेको सिगास गाउँपालिका–९ का किसान जनक बोहराले बताउनुभयो ।

“असोज यता पानी परेको छैन । लामो खडेरीका कारण पाखो जमिनमा लगाएको हिउँदे बाली सुक्दै गएको छ”, उहाँले भन्नुभयो, “लगाएको बाली सुक्दा खेत बाँझै जस्तो देखिएन थालेका छन्।”

यहाँका अधिकांश क्षेत्रका किसान पाखो जमिनमै खेती गर्दै आएका छन्। सिँचाइ सुविधा नहुँदा धेरैजसोले आकाशे पानीको भरमा खेती गर्छन्। सिँचाइ पुगेको ठाउँमा पनि खडेरीले गर्दा खोलाको पानी कम भएकाले कुलो लाग्ने खेतको बाली पनि सुक्न थालेपछि मेलौली नगरपालिका–६ किसान चिन्तामणी भट्टको यो वर्ष उत्पादन घट्नेमा चिन्ता छ।

आकाशेपानीको भरमा हिउँदेबाली लगाउँदै आएका थिए । हिउँदेवर्षा नहुँदा बालीनाली हुर्कन नपाउँदै सुक्न थालेको सुर्नया गाउँपालिका–६ का किसान पदम भट्टले बताउनुभयो । बाली छर्ने समयमा पनि पानी नपर्दा राम्रोसँग उम्रिन पनि नपाएको किसानहरुले बताएका छन् ।

बैतडीमा २५ हजार ७०० हेक्टर जमिनमा खेती गरिन्छ । जसमा १० हजार ९०० हेक्टर क्षत्रफलमात्रै सिंचित छ । जिल्लाको १५ हजार ४ सय हेक्टरमा गहुँ, ७ सय हेक्टरमा जौं, ३ सय हेक्टरमा मसुरो, ३४ हेक्टरमा तोरी र ५ हेक्टर क्षत्रफलमा केराउ खेती गर्ने गरेको कृषि ज्ञान केन्द्रको तथ्यांक छ ।

असोज तेस्रो हप्ता यता वर्षा हुने सकेको छैन । बर्खेबाली मकैमा जंगली जनावरले क्षति पु¥याउँदा र हिउँदे बाली खडेरीले सुक्दा जिल्लामा हरेक वर्ष उत्पादनमा कमी आउन थालेको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीले बताउनुभयो ।

प्रतिक्रिया जनाउनुहाेस्