बैतडी: भूमी समस्या समाधान आयोग बैतडीले जग्गा नापजाँच सुरु गरेको छ । भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच सुरु गरेको हो ।
पञ्चेश्वर गाउँपालिकाबाट जग्गा नापजाँच सुरु गरिएको भूमि समस्या समाधान आयोग जिल्ला समिति बैतडीका अध्यक्ष रमेशदत्त पाण्डेयले बताउनुभयो । पञ्चेश्वर गाउँपालिकाले प्रमाणीकरण गरेका परिवारहरुको लागि जग्गा नाप जाँच शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।
पञ्चेश्वर गाउँपालिकाको वडा नं १, ३ र ४ मा जग्गा एकीन र प्रमाणीकरणको काम सकिएको छ। “गाउँपालिकाले जमीन एकीन गर्नुका साथै भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको प्रमाणीकरण गरेपछि वडा नं. १ बाट जग्गा नापजाँच शुरु गरिएको हो ।”, अध्यक्ष पाण्डेयले भन्नुभयो ।
जग्गा नापजाँचका लागि एक जना सर्वेक्षक र चार जना अमीन गरि पाँच जना प्राविधिकको टोली खटाएको छ । पञ्चेश्वर गाउँपालिकाभित्र ५ सय ४१ परिवार भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासी रहेका तथ्यांक छ ।
जग्गा नाप जाँच पछि फिल्ड बुक र श्रेष्ता तयार पारेर उनीहरुलाई लालपूर्जा वितरण गरिने भूमि समस्या समाधान आयोग बैतडीले जनाएको छ ।
“अहिले पञ्चेश्वरमा जग्गाको नापजाँच सुरु भएको छ । बाँकी स्थानीय तहहरुलाई माघ २५ गतेभित्र भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको प्रमाणीकरणका लागि पत्राचार गरेका छौ”, उहाँले भन्नुभयो “त्यसपछि बाँकी पालिकाहरुमा पनि जग्गा नापजाँचको सुरु हुनेछ ।”
आयोगको जग्गा नापजाँचको कामले पालिकाभित्र रहेका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई सहज हुने अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो ।
जिल्लामा अहिलेसम्म तीन हजार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले आवेदन दर्ता गराएका छन् ।





















