बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द प्रमुख प्रशासकीय अधिकृत लिन एक महिनादेखि सिंहदरबारमा धाइरहेका छन्। ‘जेन-जी’ सरकार आएपछि प्रमुख प्रशासकीय अधिकृत सरूवा हुँदा अध्यक्ष चन्दले एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृत कोज्न राजधानी धाइरहेका हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हाजिर भएको दुई महिना नपुग्दै प्रमुख प्रशासकीय अधिकृत सरूवा गरिदिएको हो। साउन अन्तिम साता पञ्चेश्वरको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर धामी आएकोमा कार्तिक अन्तिमतिर सरूवा गरेर बैतडीकै मेलौली नगरपालिका पठाइएको थियो । त्यसपछि पञ्चेश्वर नयाँ प्रमुख प्रशासकीय अधिकृत पाउन सकेको छैन। गाउँपालिकाको काम नै ठप्प भएपछि अध्यक्ष चन्द प्रमुख प्रशासकीय अधिकृत खोजीमा एक महिनादेखि सिंहदरमा धाइरहेका हुन्।
अदालतमा तारिक धाए जस्तो अध्यक्ष चन्द्र दैनिक प्रमुख प्रशासकीय अधिकृतको खोजीमा सिंहदरबार धाइरहेका छन्। अदालतमा तारेख धाए भन्दा मन्त्रालय धाउन चर्को भएको पञ्चेश्वरका अध्यक्ष चन्द बताउँछन्। प्रमुख प्रशासकीय अधिकृत पढाइदिन अनुरोध गर्दा मन्त्रालयका कर्मचारीले रूखो व्यवहार गरेको उनले सुनाए। संघीय मामिला तथा सामान्य मन्त्रालयको प्रशासन महाशाखा प्रमुख पार्वती शर्माको व्यवहारबाट उनी रुष्ट बनेर सिंहदरबारमा भुतभुताइरहेका छन्।
गाउँपालिकाको सहमति नलिइ प्रमुख प्रशासकीय अधिकृत सरूवा गरेको विषयमा शर्मासँग प्रश्न गर्दा आलटाल जवाफ दिएको उनको भनाइ छ। गाउँपालिकाको सबै कामकाज ठप्प भएकाले यथाशीघ्र प्रमुख प्रशासकीय अधिकृत पठाउनु पर्ने उनको माग छ। २४ घण्टाभित्र प्रमुख प्रशासकीय अधिकृत नपठाए आमरण अनसन बस्ने चन्दले चेतावनी दिए। ‘जेन-जी’ सरकारमा पनि सामान्य प्रशासन मन्त्रालयको रबैया नफेरिदा अध्यक्ष चन्द आक्रोशित देखिन्छन्।





















